समाज

एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित

इकागज |
फागुन ५, २०८० शनिबार २१:२४ बजे

भक्तपुर- भक्तपुरका एक सय वर्ष पुगेका हरिलाल पंच सम्मानित भएका छन् । शनिबार उनलाई उनकै परिवारका सदस्यहरूले गठन गरेको पंच मु दवु (समूह)को दोश्रो वार्षिक भेला तथा वनभोज कार्यक्रममा सम्मान गरिएको हो । संस्कृतिविद् रत्न सायमी र दवुका अध्यक्ष दुरुकाजी पंचले दोसल्ला ओढाई प्रमाणपत्र प्रदान गरी सम्मान गरेका हुन् ।

कार्यक्रममा संस्कृतिविद् सायमीले एक सय वर्ष पुगेका मानिस हाम्रो लागि गर्वको विषय भएको बताए । नाति सरहको आफूले एक सय वर्ष पुगेका हजुरबुबा जस्तो मानिसलाई सम्मान गर्न पाउनु आफ्नो लागि गौरवको विषय भएको उनले बताए । उनले एक सय वर्ष मात्रै होइन, ८० वर्ष उमेर पुगेका मानिसका अनुभव लिपिबद्ध गरी पुस्तकका रूपमा प्रकाशन गर्न सके भावी पुस्ताको लागि उपयोगी हुने बताए ।


पंच मु दवु पंच थर भएका भक्तपुरेहरूको समूह हो । भक्तपुरमा विभिन्न थरका मानिसहरूमध्ये पंच थर भएका परिवारले सबै परिवारलाई एकताबद्ध गर्न २०७८ सालमा पंच मु दवू गठन गरेका थिए ।

उनीहरूका अनुसार भक्तपुरमा पंच थर भएका परिवार भक्तपुर नगरपालिका वडा नम्बर १ इटाछें र भक्तपुरकै सूर्यविनायक नगरपालिका वडा नम्बर ५ कटुञ्जे किवाचो दुई ठाउँमा छन् । तर, २०७२ सालको महाभूकम्पपछि भने उनीहरू जिल्लाकै सूर्यविनायक पाण्डुबजार, लिवाली, कमलविनायक, सल्लाघारी लगायतका ठाउँमा बसाइँसराइ गरी बस्न थालेका छन् । हाल दवुमा दुई सय ७२ सदस्य रहेको जनाइएको छ । कार्यसमिति भने नौ जनाको रहेको जनाइयो । 

सम्मानित हरिलाल पंचको जन्म १९८१ मंसिर १९ गते भएको थियो । उनले गएको मंसिर १९ गते ९९ वर्ष पूरा गरी एक सय वर्ष प्रवेशको अवसरमा जन्मदिन मनाइएको थियो । उनकी धर्मपत्नी केशरी पंच पनि छन् । उनको जन्म भने १९८५ मंसिर २३ गते भएको थियो । उनीहरूका चार छोरा र तीन छोरीहरू थिए । तीन छोरीहरू भने बितिसकेका छन् । उनका चार छोरा र चार बुहारीहरूसहित नातिनातिना, पनातिपनातिना, खनातिखनातिनाहरूसमेत भइसकेका छन् ।


Author

थप समाचार
x