रौतहटको ई–रिक्साले बाेक्न थाले यात्रु भन्दा बढी दाउरा
फाइल तस्बिर
रौतहट - पछिल्लो समय रौतहटको चन्द्रपुर क्षेत्रमा रहेका ई–रिक्साहरू यात्रु बोक्नुभन्दा दाउरा बोक्नमा नै व्यस्त हुन थालेका छन् ।
आधा दिनमा संकलन गरेको एक ई-रिक्सा दाउराको ५ हजारसम्म पैसा पाउने भएपछि ई–रिक्सा सञ्चालकहरू पछिल्लो समय दाउरा बोक्नतिर आकर्षित भएका हुन् ।
रौतहटको राष्ट्रिय वन तथा सामुदायिक बनमा प्रवेश गर्ने यस्ता ई-रिक्सा सञ्चालकहरूले काँचा सालका लात्राहरु काटेर दाउराको रुपमा बिक्री वितरण गर्दै आएका छन् । वन कर्मचारीकै मिलोमतोमा रौतहटको वनबाट काँचा सालका लात्रा काटिँदा समेत सम्बन्धित निकायले ध्यान दिन नसकेको स्थानीय बासिन्दाहरूले बताएका छन्।
चन्द्रपुर नगरपालिका - ४ मा रहेको जनचाहना सामुदायिक वन क्षेत्रमा बिहान ८ बज्ने बित्तिकै दर्जनौं ई-रिक्साहरू सालका काँचा लाथ्रा काट्नका लागि प्रवेश गर्ने गरेको स्थानीय बासिन्दाले बताए । स्थानीय बासिन्दा तथा ई रिक्सा सञ्चालक केदार तिमल्सिनाका अनुसार पछिल्लो समय रौतहटको राष्ट्रिय वन तथा सामुदायिक वनमा काँचा सालका लाथ्रा काटेर वनमा हानी नोक्सानी पुर्याउँदै आएका छन् ।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्रकुमार झाले वन कर्मचारीको मिलोमतोमा ई रिक्साहरूले काँचा सालका लाथ्रा काटेको पाइए उनीहरूमाथि कारबाही हुने बताएका छन्। स्थानीय बासिन्दाहरूले भने व्यापक रुपमा ई रिक्साले वनमा हानि नोक्सानी पुर्याएको जानकारी दिएका छन्।
रौतहटको वनमा पछिल्लो समय व्यापक रूपमा हानि नोक्सानी हुँदै आएको भए पनि डिभिजन वन कार्यालयले त्यसतर्फ ध्यान दिन नसकेको स्थानीय बासिन्दाहरूले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया