समाज

सहाराविहीनका लागि भक्तपुरमा आश्रम निर्माणको तयारी

इकागज |
फागुन ६, २०८० आइतबार १८:१० बजे

भक्तपुर- सहाराविहीन वृद्धवृद्धाहरूको निःशुल्क बासको व्यवस्थाका लागि भक्तपुरमा भवन निर्माणको तयारी भएको छ । जिल्लाको चाँगुनारायण नगरपालिका वडा नं ९ ताथलीमा वैशाख १ गतेदेखि भवन निर्माण शिलान्यासको तयारी थालिएको हो । 

भवन निर्माणका लागि त्यहाँ जग्गा खरिदको काम सम्पन्न भएको छ । चाँगुनारयण नगरपालिका वडा नं ९ ताथलीमा ५० आनाको ठूलो क्षेत्रफलको जग्गा खरिद गरिसकेको छ ।  छोरीको घर जेष्ठ नागरिक आश्रमका संरक्षक आचार्य तथा कथावाचक वालयोगेश्वर श्री विजयकृष्ण मूर्तिजी महाराजले प्रतिआना साढे चार लाखमा जग्गा खरिदको काम भइसकेको जानकारी गराए । अब त्यहाँ पाँच सय जना असहाय वृद्धवृद्धाहरूलाई राख्नसक्ने क्षमताको भव्य भवन वैशाखमा शिलान्यास गर्ने उनले जनाए । वैशाखमा शिलान्यासको लागि निर्माण थालनी गर्दै असहाय वृद्धवृद्धाहरूलाई निःशुल्क खाने, बस्ने, सुत्ने तथा औषधि उपचारको वन्दोबस्त गर्ने उनले जनाए । 


भवन निर्माणका लागि १० करोडको बजेट लाग्ने अनुमान गरिएको छ । भव्य भवन हुने भएकोले विस्तारै क्रमशः भवन बनाउँदै वृद्धवृद्धाहरूलाई आश्रय दिँदै जाने योजना राखिएको छ । काम थाल्नका लागि हाल यही स्थानमा असोज ११ गतेदेखि २७ गतेसम्म भएको श्री छोरीको घर जेष्ठ नागरिक आश्रमद्वारा आयोजित भक्तपुर चाँगुनारायण ताथली धार्मिक तथा सांस्कृतिक महामहोत्सव एवं श्रीमद् भागवत विराट पितृ उद्धार ज्ञान महायज्ञ २०८० मा चन्दादाताहरूबाट प्राप्त एक करोड १२ लाख ३६ हजार तीन सय ८९ रुपैयाँ ६५ पैसा रहेको जनाइएको छ । साथै विभिन्न व्यक्ति तथा संस्थाहरूबाट बोल कवोल गरिएको प्राप्त हुन बाँकी रकम ६३ लाख ६४ हजार सात सय ७९ रुपैयाँ पनि रहेको जनाइयो । 

‘उठिसकेको र उठन बाँकी गरी हामीसँग कुल एक करोड ७६ लाख एक हजार एक सय ६८ रुपैयाँ ६५ पैसा भएको छ, आश्रमका संरक्षक बालगोगेश्वर महाराजले भने, 'निर्माण थालिएपछि फेरि पनि धेरै दाताहरूबाट पैसा उठ्ने विश्वास हाम्रो हो ।’

भवन बनाउनका लागि अहिले पनि विभिन्न संघसंस्था, राजनीतिक दलका नेताहरू, दाताहरूले सघाउने प्रतिबद्धता जनाइरहेको जनाइएको छ । भवन निर्माणका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका संघीय सांसद् ज्ञानेन्द्र शाहीले एक सय बाेरा सिमेन्ट उपलब्ध गराइदिने वचन दिएको छोरीको घर जेष्ठ नागरिक आश्रमले जनाएको छ । साथै भक्तपुरको सूर्यविनायक नगरपालिकाले घटीमा ५० लाखदेखि बढीमा एक करोडसम्मको रकम सहयोग गर्ने जनाएको छ ।  

अहिले पनि त्यहाँ एक दर्जन जति टहराहरू छन् । त्यसमा हाल नौ जना असहाय वृद्धवृद्धाहरू छन् । पहिला १३ जना रहेकोमा चार जनालाई पारिवारिक मिलन गराई घर पठाइएको जनाइएको छ । यहाँ बस्ने वृद्धवृद्धाहरूले कुनै शुल्क तिर्नुपर्दैन । साथै कुनै सोर्सफोस पनि लगाउनु पर्दैन । साँचो रूपमा सहाराविहीन वृद्धवृद्धालाई स्वतः त्यहाँ स्वागत गरिन्छ । 


Author

थप समाचार
x