समाज

काठमाडौँमा मिटरब्याज पीडितको मार्च पास

इकागज |
फागुन ८, २०८० मंगलबार १६:५३ बजे

काठमाडौँ- मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौँमा मार्च पास गरेको छ ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तीय शोषणविरुद्धमा काठमाडौँको रिङ् रोडमा मार्च पास गरेका हुन् । नेपालका विभिन्न क्षेत्रबाट पैदलै उनीहरू काठमाडौँ आएका हुन् । उनीहरूले सामन्तीका रूपमा रहेको लघुवित्त र वित्तीय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिब किसानलाई नि:शुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुँदे माग अघि सारेका छन् ।


लत्ताकपडासहित आएका लघुवित्त पीडितले आफ्ना मागहरू पूरा नभएसम्म घर नफर्किने बताएका छन् ।

मिटरब्या​ज र लघुवित्तले जग्गा-जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौँ आएको उनीहरूको भनाइ छ ।

तीन वर्षदेखि सरकारले आश्वासन दिए पनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदल यात्रा गर्दै काठमाडौँ आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाए पनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरूको गुनासो छ ।


Author

थप समाचार
x