समाज

विकास माग्न जाजरकोटी काठमाडौँमा, ठेकेदारलाई कारबाही गरिदिन प्रधानमन्त्रीलाई बिन्ती

इकागज |
फागुन ११, २०८० शुक्रबार १९:५३ बजे

सुर्खेत- जाजरकोटमा भएका विकास निर्माणका काम लथालिङ्ग अवस्थालाई गति दिनका लागि जाजरकोटका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई हारगुहार गरेका छन् । पूर्वमन्त्री गणेशप्रसाद सिंह लगायतका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई जिल्लाको अवस्था लथालिङ्ग भएको भन्दै तत्काल ध्यान दिन माग गरेका छन् ।​

भूकम्पबाट पीडित बनेका जाजरकोटवासीलाई तत्काल उचित व्यवस्थापनदेखि अन्य दर्जन माग लिएर जाजरकोटीले प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन् । जिल्लामा भेरी करिडोरमा क्याराभानले लथालिङ्ग बनाएका मोटरेबल पुल, पुष्पलाल मध्यपहाडी लोकमार्गको १२ वर्षदेखि अलपत्र परेको मन्ताभिर लगायत अन्य सडक खण्ड, लुम्बिनी-रारा सडक खण्डको जाजरकोटभित्र पर्ने सडकको बिजोग अवस्थादेखि जाजरकोट जुम्ला सुरुङ मार्गको काममा भएको ढिला सुस्तीका विषयमा प्रधानमन्त्री प्रचण्डलाई ध्यानाकर्षण गराएको छ ।


नलगाड जलविद्युत् आयोजनालाई यसै आर्थिक वर्षमा जसरी पनि निर्माण चरणमा लिनुपर्ने, भूकम्पपीडितका घर निर्माण गर्न कम्तिमा १० लाखभन्दा माथि उपलब्ध गराउनु पर्ने पत्रमा उल्लेख छ । ठेक्का लिने तर काम नगर्ने निर्माण व्यवसायीलाई कारबाही गरी छिटोभन्दा छिटो काम गर्नुपर्ने उक्त जाजरकोटकी टिमको माग रहेको छ । भेरी करिडोरभित्रको ५६ किलोमिटरमा पिचका लागि काम भए पनि बाँकी ६२ किलोमिटरमा बोलपत्र गर्नका लागि बजेट नहुँदा भएको समस्यालाई समेत भारी मात्रामा उठाएको छ ।

पश्चिम जाजरकोटको छेडा-चाँदे हुँदै जुम्ला जोड्ने सडकको स्तरोन्नतिको काम रोकिएकाले तत्काल बजेटको व्यवस्था गर्न माग गरिएको छ । खलंगा बोहरा हुँदै बहुप्राविधिक शिक्षालय काफलचौरसम्मको ठेक्का लागे पनि बजेट अभावले काम हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्थापन गर्न माग पत्रमा उल्लेख गरिएको छ । नलगाड नगरपालिकाले आफ्नो पालिकाभित्र दर्जन पुलहरू अलपत्र भएकाले निर्माण व्यवसायीलाई तत्काल काममा फर्कन वा कारबाही गर्न माग गरिएको पत्र समेत प्रधानमन्त्रीलाई बुझाएको छ । जिल्लामा प्रदेश तथा संघ सरकारले निर्माण गरेका ८० प्रतिशत योजनाहरू लथालिङ्ग भएकाले तत्काल निर्माण व्यवसायीलाई कारबाही गर्न समेत माग गरिएको छ । 

नलगाड जलविद्युत् आयोजनाको पुल समेत ९ वर्षदेखि अलपत्र हुँदै आएको छ । भेरी नदीमा आधा दर्जन पुलहरू ६ वर्षदेखि अलपत्र हुँदै आएका छन् । विकास निर्माणको काम लथालिङ्ग बनाउने जो सुकै भएपनि कारबाही गरेर जिल्लाको विकास निर्माणमा गति दिन समेत आग्रह गरिएको पूर्वमन्त्री सिंहले बताए । ठेक्का लिएर वषौँसम्म काम नगरी पेस्की लिएर बेपत्ता हुने निर्माण व्यवसायीलाई तत्काल उचित कदम चाल्न समेत माग गरिएको छ । जिल्लामा धेरै पटक विकास निर्माणको काममा  विलम्ब नगर्न आग्रह गरे पनि निर्माण व्यवसायीबाट त्यसको कुनै पनि रेस्पोन्स नहुँदा जाजरकोटको टोल प्रधानमन्त्रीलाई नै ध्यानाकर्षण गराउन काठमाडौँ पुगेको हो । भूकम्पमा परि क्षत ,विच्छेद भएको समयमा सबै खालका कामहरू होल्ड गर्दा जिल्ला पछाडि परेको समेत माग पत्रमा उल्लेख गरिएको छ । 

कोहलपुरदेखि सुर्खेतसम्म मात्र निर्माण हुन लागेको १३२ केभी प्रशारण लाइन जाजरकोटसम्म पुर्याउनु पर्ने समेत उनीहरूको माग रहेको छ । डोल्पामा निर्माण हुने जगदुल्ला जलविद्युत् आयोजना १०६ मेगावाटलाई समेत सहयोग पुग्ने भएकाले सो प्रशारण लाइन जाजरकोटसम्म तत्काल जोड्नुपर्ने उनको भनाइ छ । ४०० केभी प्रशारण लाइनको दानी पिपलमा निर्माण हुने भनिएको सव टेशनको काम रोकिएको भन्दै तत्काल सो भेरी करिडोरको प्रशारण लाइनलाई निर्माण चरणमा लिन आग्रह गरिएको छ । १५० किलोमिटर  लामो प्रशारण लाइनको काम तत्काल थाल्न माग पत्रमा उल्लेख छ ।


Author

थप समाचार
x