समाज

दलहरू सत्ता केन्द्रित हुनाले जनतामा निराशा छायो : संविधानविद् दाहाल

इकागज |
फागुन १२, २०८० शनिबार १४:१९ बजे

काठमाडौँ- संविधानविद् काशीराज  दाहालले  संविधानको मर्मअनुसार नेतृत्व नजाँदा मुलुकमा समस्या भएको बताएका छन् ।​ रिपोर्टर्स् क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएका हुन् ।

संविधानको मर्मअनुसार जानुभन्दा दलहरूले सत्ता केन्द्रित गरेर जाँदा जनतामा निराशा छाएको संविधानविद् दाहालले जिकिर गरे । दाहालले विभिन्न विकसित मुलुकको विकास हुनुको मुख्य कारण संविधानलाई सबैले स्वीकार गर्नु रहेको बताउँदै नेपालमा प्राक्टिस कम हुँदा संविधान पूर्ण हुन नसकेको उल्लेख गरे ।


संविधानलाई दिगो बनाउनका लागि राजनीतिक शक्तिहरूले यसप्रति अपनत्व राखेर कार्यान्वयनको विकल्प नरहेको उनले बताए । दाहालले संविधानमा लेखेका कुराले मात्रै संविधान पूर्ण नहुने भन्दै यसलाई सही ढंगले कार्यान्वयन गरेमा मात्र संविधान क्रियाशील दस्तावेजको रूपमा रहने धारणा राखे ।

संविधानविद् दाहालले प्रशासनिक, राजनीतिक र वित्तीय आर्थिक क्षेत्रमा सुशासन आवश्यक रहेको भन्दै यी क्षेत्रको समग्र सुधारले मुलुकमा सुशासन कायम हुन सक्ने बताए । 


Author

थप समाचार
x