समाज

तीन वडाध्यक्षहरूले भने : आहा ! बुढानीलकण्ठ

इकागज |
फागुन १२, २०८० शनिबार १८:३२ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकाको उत्तरी क्षेत्रमा रहेको बुढानीलकण्ठ नगरपालिकामा पछिल्ला केही वर्षयता तीव्र रूपमा बस्ती विस्तार भइरहेको छ । शिवपुरी डाँडाको फेदमा रहेको यो पालिका प्राकृतिक, धार्मिक, सांस्कृतिक हिसाबले सम्पन्न छ । बसोबासका लागि सडक, सार्वजनिक यातायातलगायत आधारभूत पूर्वाधार पनि क्रमशः सहज बनिरहेको छ । यस्ता अनेक विशेषताले सम्पन्न बुढानीलकण्ठ यही बसोबास गर्ने स्थानीयवासीका लागि होस् वा यहाँ घुम्न आउने पर्यटकका लागि आहा छ । बुढानीलकण्ठ सांस्कृतिक साहित्यिक महोत्सवमा बुढानीलकण्ठ नगरपालिकाका यस्तै विशेषताहरूबारे चर्चा भयो ।

यस विषयमा बुढानीलकण्ठकै वडाध्यक्षको भूमिकामा रही काम गरिरहेका वडा ६ का रवि खड्का, वडा १३ का टीकानारायण श्रेष्ठ, वडा ९ की सुमित्रा त्रिपाठी पाण्डेले आफ्नो अनुभव र भावी योजना साटे ।


यी तीन जनै प्रतिनिधि गत स्थानीय निर्वाचनबाट पहिलो पटक निर्वाचित भएका थिए । सहरी वडाको विषयवस्तु केन्द्रित यो सेसनमा सबै वडाध्यक्षले आफ्नो क्षेत्रमा भइरहेको प्रयत्न र चुनौतीबारे जानकारी दिए ।

वक्ता वडाध्यक्षहरूले काठमाडौं उपत्यकाका बासिन्दालाई बुढानीलकण्ठले धेरै तरिकाले आकर्षित गर्न सक्ने धारणा राखे । प्रकृतिसँग नजिक गन्तव्यका रूपमा हाइकिङ र धार्मिक सांस्कृतिक पर्यटनका रूपमा विभिन्न मठमन्दिर र सम्पदाको आकर्षक थलोका रूपमा स्थापित गर्न सकिने बताए । युवा उद्यमी तथा सांस्कृतिक अभियन्तासमेत रहेका श्रेष्ठले भने, 'हामी सांस्कृतिक सम्पदाले भरिएको यस क्षेत्रको विकास योजनामा सांस्कृतिक झल्को आउनुपर्नेमा सजग छौं ।' उनले संस्कृतिको जगेर्ना वास्तवमा सही विकास भएकोमा जोड दिए ।

वडा ९ की सुमित्रा त्रिपाठी पाण्डेले आफ्नो वडाको मुख्य चुनौती सार्वजनिक सम्पत्ति जोगाउनु रहेको बताइन् । मानव बस्तीको तीव्र विकासका क्रममा यस्ता सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण जोगाउन एक जनाको प्रयत्न मात्र अपर्याप्त रहेकाले यसमा सबैको प्रयासको खाँचो पर्ने तर्क गरिन् ।

त्यस्तै वडा ६ का रवि खड्काले सहरी भेगको वडामा सार्वजनिक सेवाको प्रवाह चुस्त बनाउनु पर्ने कुरालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए । सेसनमा संस्कृति र सार्वजनिक सम्पत्तिको संरक्षणका साथै सहरीकरणको व्यवस्थापनका लागि चाहिने खानेपानी, प्रदूषण नियन्त्रणलगायत स्थानीय मुद्दाबारे अन्तरक्रिया भएको थियो ।


Author

थप समाचार
x