समाज

मनाङमा घर भत्किँदा एकको मृत्यु, सातको सकुशल उद्धार

इकागज |
फागुन १२, २०८० शनिबार १९:३४ बजे

मनाङ- मनाङमा आज एउटा घर भत्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा धार्चे गाउँपालिका-६ का अन्दाजी ३७ वर्षीय बीरबहादुर घले रहेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए ।

ङिस्याङ गाउँपालिका-४ मनाङ गाउँका कान्छा गुरुङको घर मर्मतका क्रममा माटोले पुरिएर घलेको मृत्यु भएको हो । घर मर्मत गर्ने नौ जना कामदारमध्ये सात जनाको सकुशल उद्धार गरिएको छ भने एक जना सामान्य चोट लागेको प्रमुख जिल्ला अधिकारी लामिछानेको भनाइ छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको भान्सा रहेको सो घर हिमपातपछि पानी चुहिने समस्या देखिएको थियो । 


उनले भने, 'केही दिनअघिको भारी हिमपातपछि घरमा पानी चुहिने समस्या देखिएको रहेछ । सो मर्मतका क्रममा घर भत्किएको हो । घलेको माटोले च्यापिएर मृत्यु भएको जानकारी प्राप्त भएको छ ।' माटोले पुरिएका कामदारको नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतका सुरक्षाकर्मीको सहयोगमा उद्धार गरिएको थियो । 

मृतक घलेको शव पोष्टमार्टमका लागि चामे पठाइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनले भने, 'माटोले पुरिँदा एक जनाको टाउकोमा सामान्य चोट लागेकोमा  प्राथमिक उपचार गरिएको छ भने अन्यको सकुशल उद्धार गरिएको छ ।' उनका अनुसार घरमा हिउँ बढी जमेपछि पानी चुहिने समस्या देखिएको थियो । रासस


Author

थप समाचार
x