समाज

छोरी जन्मिएको भन्दै परिवारले झगडा गरेपछि शिशुलाई अस्पतालमै छोडेर आमा बेपत्ता

इकागज |
फागुन १३, २०८० आइतबार २०:४८ बजे

फागुन- वीरगञ्जस्थित नारायणी अस्पतालमा छोरी जन्मेपछि आमा अस्पतालबाटै फरार भएकी छिन् । वीरगञ्जको नारायणी अस्पतालमा हिजो बिहान सीता देवी नाम दर्ता गराएकी महिलाले छोरीलाई जन्म दिएकी थिइन् । सुत्केरी व्यथा लागेपछि अस्ति साँझ सासूसँग अस्पताल पुगेकी उनले जन्म दिएकी शिशु स्वस्थ अवस्थामा रहेको अस्पतालले बताएको छ । अस्पतालमा रानीघाट-६ वीरगञ्जको ठेगाना टिपाए उनीहरूले दुवै जनासँग मोबाइल नभएको बताएका थिए ।

छोरी जन्मिएपछि सीतासँग बेडीले झगडा गरेको अस्पतालका स्वास्थ्यकर्मीले बताए । अस्पतालमै पनि परिवारजनले तनाव दिए जस्तो देखिएको उनीहरूको भनाइ छ । सीताका यसअघि तीन छोरी जन्मिएका थिए । उनीहरू फागुन १२ गते दिनभर अस्पतालमै बसेका थिए । साँझ अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्डको आँखा छलेर हिँडेका हुन् । साँझपख बेडमा शिशु मात्रै देखेपछि स्वास्थ्यकर्मीले खोजी गरेका थिए । तर, भेटिएनन् ।


आइतबार मध्याह्नसम्म पनि उनीहरू नभेटिएको अस्पतालले जनाएको छ । छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाले दिइन् । 'अस्पतालमा सासू र बुहारी मात्रै आएका थिए । श्रीमान् खै भन्दा कमाउन गएका छन् भनेर जवाफ दिएकी थिइन्,' थापाले भनिन्, 'छोरी जन्मेपछि सासु रिसाइरहेकी थिइन् । शिशु नै छोडेर जालान् जस्तो लागेको थिएन । हिजैदेखि खोजिरहेका छौं, भेटिएका छैन ।' शिशु स्वस्थ रहेको र एनआईसीयूमा राखिएको थापाले बताइन् ।

छोरी जन्मिएकै कारण आमा र हजुरआमा शिशुलाई अलपत्र छोडेर हिँडेको अस्पतालको दाबी छ । अस्पताल वरपर खोजतलास गर्दा नभेटिएपछि अस्पताल प्रशासनले प्रहरीलाई जानकारी गराएको छ । उनीहरूले गलत ठेगाना टिपाएर गएकाले खोजीमा कठिनाइ भइरहेको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

'उनीहरूले टिपाएको ठेगानामा त्यो नाम र हुलियाको मानिस भेटिएन । पहिले नै योजना बनाएर घटना घटाएको आशंका गरेका छौं,' डीएसपी थापाले भने । उनीहरूको खोजतलास जारी रहेको उनको भनाइ छ ।


Author

थप समाचार
x