समाज

उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, चैत २४ मा मनोनयन दर्ता

इकागज |
फागुन १४, २०८० सोमबार १६:४८ बजे

काठमाडौँ- निर्वाचन आयोगले आगामी १५ वैशाखमा हुने निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ । 

सार्वजनिक तालिकाअनुसार इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र बझाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन १ (१) को लागि हुने उपनिर्वाचनका लागि आउँदो २४ चैतमा मनोनयन दर्ताको लागि समय निर्धारण गरिएको छ । 


साथै २७ चैतमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने तालिकामा उल्लेख छ । 

यही १६ फागुनदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २२ चैतमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए । साथै दल दर्ताका लागि २४-३० फागुनसम्म समय तोकिएको छ । 

यसबारे जारी आयोगको विज्ञप्तिको पूर्णपाठ:

इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ तथा बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ मा मिति २०८१ वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगबाट आज मिति २०८० फागुन १४ गते निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । स्वीकृत निर्वाचन कार्यतालिका अनुसार मिति २०८० फागुन १६ गतेदेखि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरी २०८० चैत्र २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ । सो उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ता गर्नको लागि मिति २०८० फागुन २४ गते देखि ३० गते सम्मको म्याद दिई सूचना प्रकाशन गरिनेछ । 

आज स्वीकृत गरिएको कार्यतालिका अनुसार २०८० चैत्र २२ गते मुख्य निर्वाचन अधिकृतको नियुक्ति र सोही दिन मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी मिति २०८० चैत्र २४ गतेदेखि २७ गतेसम्म निर्वाचन अधिकृतको कार्यालयमा निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रम अनुसार मिति २०८० चैत्र २४ गते उम्मेदवारको मनोनयन दर्ता र चैत्र २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह वितरण गरिनेछ । साथै मिति २०८० चैत्र २८ गतेदेखि २०८१ वैशाख १२ गतेसम्म प्रचारप्रसारको अवधि रहनेछ । मिति २०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ ।

डा. थानेश्वर भुसाल
उपसचिव एवम् सहायक प्रवक्ता

 


Author

थप समाचार
x