नारायणी अस्पतालमै बच्चा छाडेर भागेकी आमा अझै फेला परिनन्
पर्सा- छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन् । गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज-६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा नै छोरीलाई जन्म दिएकी थिइन् ।
अस्पतालमा उनीसँगै उनकी सासु बेडीदेवी पनि पुगेकी थिइन् । छोरीको जन्म भएपछि सासुसँग भनाभन हुँदा अस्पतालमै बच्चा छाडेर सीतादेवी फरार भएकी थिइन् । हजुरआमा पनि सम्पर्कविहीन भएपछि बच्चा अहिले अस्पतालमै छ । बच्चाको अवस्था सामान्य रहेको तथा बच्चाको आमा वा घरपरिवारबाट कसैले हालसम्म अस्पतालमा सम्पर्क नगरेको नारायणी अस्पतालमा प्रवक्ता डा. उदय नारायण सिंहले जानकारी दिए ।
अस्पतालमा सीतादेवीले आफ्ना श्रीमानको नाम दीपक कानु लेखाएकी छिन् । उनले लेखाएको ठेगाना गलत रहेको तथा छोरी जन्मिएका कारणले नै बच्चालाई छोडेर हिँडेको हुनसक्ने उनले बताए । यसअघि सीतादेवीले तीन छोरी जन्माएको सिंहले बताए ।
बच्चालाई छाडेर आमा र परिवारजन फरार भएपछि अस्पतालले पर्सा प्रहरीलाई खबर गरेको थियो । आइतबारदेखि नै प्रहरीले बच्चाको आमा र परिवारलाई खोजी गरिरहेको भए पनि हालसम्म भेटाउन नसकिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए । ठेगाना गलत भएकोले खोजीमा अप्ठ्यारो भइरहेको बताउँदै खोजी कार्य भने जारी रहेको उनले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया