प्रहरी छल्दै काम खोजी हिँड्ने उनलाई जब सेतोपुलमा गाँस मिल्छ
काठमाडौँ : साँझ सात बज्न थालेपछि काठमाडौँ, सेतोपुलमा बिस्तारै मानिसहरूको चहलपहल बढ्न थाल्छ । खोला किनारमा लामबद्ध हुन्छन् उनीहरू । कोही सडकको पेटीमा टुक्रुक्क बसिरहेका भेटिन्छन् । कोही भने यत्तिकै उभिएका । कसैले झोला बोकेका हुन्छन्, कोही रित्तै ।
उनीहरूको अनुहार थकित देखिन्छ । आँखाले कसैलाई पर्खिरहेका जस्ता लाग्छन् । ६०-७० जनाको त्यो भिडमा सर्लाहीका बालराज शर्मा पनि उसैगरी टुक्रक्क बसेका छन् । उनको वरिपरि आशिष खत्री, राजेश डंगोल, विष्णु थापा र राज मोक्तान पनि सडकको पेटीमा बसेका छन् ।
उनीहरूमध्ये कोही टायल-मार्बलको काम गर्थे । कोही भारी बोक्थे । कोही घरमा गारो लगाउँथे । कोही ठेलामा तरकारी डुलाउँथे । निषेधाज्ञाले उनीहरू सबैको रोजगारी खोसियो । ४२ वर्षीया बालराज भारी बोक्थे । उनले भारी बोकेर जीविका चलाउन थालेको २४ वर्ष भएको छ । यो बीचमा अहिलेजस्तो दुःख उनलाई कहिल्यै परेको थिएन । ‘अघिल्लो वर्ष कोभिड आउँदा बचाएर राखेको पैसाले खान पुगेको थियो,’ उनले भने, ‘यो वर्ष कान्छी छोरी बिरामी भएपछि बचत गरेको पैसा उपचारका लागि घर पठाएपछि सडकमा आइयो ।’
निषेधाज्ञापछि उनको भारी बोक्ने काम बन्द भयो । घरबेटीको किचलो सुरु हुन थाल्यो । रासन ल्याउने ठाउँका पसलेले आँखा तर्न थाले । चार महिना भयो, उनले कोठाको भाडा तिर्न नसकेको । एक महिना अघिसम्म उनी डिल्लीबजारस्थित डेरामै बस्थे । डेरामा जे छ, त्यो पकाएर खान्थे । तर, ग्यास सक्किएर तातो पानी तताउनेसमेत उपाय नलागेपछि उनी सडकमा निस्किए । साथीभाइबाट थाहा पाए, सेतोपुलमा कसैले निःशुल्क खाना खुवाउँछ ।
हिजोआज हरेक साँझ आठ बजे सेतोपुलमा भेटिन्छन्, उनी । बिहान भने गौशालामा कुनै एउटा समूहले रोटी खुवाउँछ उनी उतै जान्छन् । दिउँसो भने प्रहरीको आँखा छलेर उनी कतै काम पाइन्छ कि भनेर भौँतारिन्छन् । तर, निषेधाज्ञायता कुनै काम हात लागेको छैन । ‘छाक टार्ने पैसा छैन, कोठामा कुन मुख देखाएर जानु,’ उनले भने, ‘ज्यानमा लगाएको लुगा ज्यानमै फाटिसक्यो । यो लुगा लगाएको ठ्याक्कै एक महिना भयो । पेट भोको छ तर, हामीले खानाभन्दा काम पाए हुन्थ्यो ।’
दिनभरि कामको सिलसिलामा भौँतारिदा निकै भोकाएका हुन्छन् । त्यही भोकले उनलाई यहाँसम्म डोर्याउँछ ।
केही बेरमा एउटा गाडी आएर रोकिन्छ । खाना सक्किने डरले बालराज र उनका साथीहरू गाडी भएतिर दौडिन्छन् । गाडीबाट निस्किएका मानिसहरू उनीहरूलाई लाइनमा बस्न अह्राउँछन् । खोलाको किनार र सडकको पेटीमा उनीहरू लाम लागेर बस्छन् । र, खाना खान थाल्छन् ।
उनीहरूलाई यसरी एक महिनादेखि नेपाल युट्युब पत्रकार संघले खाना खुवाइरहेको छ । संघका सचिव मिलन सिंहले सेतोपुल, बालाजु र वनस्थलीमा विगत एक महिनादेखि खाना खुवाइरहेको बताए । ‘हामीले दैनिक चार सय हाराहारी मानिसलाई खाना खुवाउँदै आइरहेका छौँ,’ उनले भने, ‘सुरुमा आफ्नै साथीभाइबाट सहयोग जुटाएर खुवाइरहेका थियौँ । अहिले धेरै सहयोगी हात जोडिनुभएको छ ।’
युट्युब भन्नेबित्तिकै मान्छेहरूले हेयको दृष्टिकोणले हेर्ने भएकाले पनि आफूहरूको कदमले भोलिको दिनमा युट्युबप्रति समाजको सकारात्मक नजर पर्नेमा उनी विश्वस्त छन् । ‘युट्युब आफैँमा राम्रो प्लेटफर्म हो,’ उनले भने, ‘ठूल्ठूला मिडियाहरूले पनि यसलाई प्रयोगमा ल्याएको पाइन्छ । तर, ‘पछिल्लो समय युट्युबलाई हेर्ने दृष्टिकोण राम्रो छैन । यसरी परेको बेला सामाजिक उत्तरदायित्व निभाउन सकियो भने पक्कै पनि कुनै दिन युट्युबलाई हेर्ने नजर पनि परिवर्तन होला ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया