समाज

संसद भवनभित्र प्रवेश गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्‍ने

इकागज |
फागुन १५, २०८० मंगलबार १३:५२ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - बानेश्वरस्थित संसद् भवनभित्र प्रवेश गरी हुल हुज्जत गरेका लघुवित्त पीडितलाई प्रहरीले म्याद थप्ने तयारी गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारीले कानुनबमोजिम सार्वजनिक स्थान तथा महत्त्वपूर्ण स्थानमा प्रवेश गरी हुलहुज्जत गरेकाले म्याद थप गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

सोमबार दिउँसो लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त, बानेश्वरमा राखिएको छ ।


प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिसकेको छ ।

समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

समितिलाई लघुवित्तका ऋणीहरू कसरी निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र प्रवेश गरे र कहाँ-कहाँ कमजोरी रह्यो भन्ने विषयमा अध्ययन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

 


Author

थप समाचार
x