समाज

नयाँ नक्सा दर्तासँगै अब घरधनीको बायोमेट्रिक हुने

इकागज |
फागुन १६, २०८० बुधबार २०:२ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले भवन निर्माण इजाजतका लागि.नयाँ नक्सा दर्ता गर्दा घरधनीको बायोमेट्रिक लिन सुरु गरेको छ ।

मंगलबार (फागुन १५) गतेबाट सहरी व्यवस्थापन विभागको रजिष्ट्रेसन डेक्सबाट यो सेवा थालिएको हो । विभागका स्ट्रक्चरल इञ्जिनियर सन्तोष पाण्डेका अनुसार अहिले बुढी औँला र चोर औँलाको चिह्न लिइन्छ । यसलाई अद्यावधिक गरेर रेटिना र हस्ताक्षरसहितको बनाउने योजना छ ।


पाण्डेका अनुसार अहिले केन्द्रमा थालिएको सेवा सबै वडामा लगिनेछ । 

इवीपीएस प्रणालीबाट आवेदन दिनु अघि इञ्जिनियरले नक्सा बनाउँछ । यससँग सम्बन्धित कागजात संकलन गरेर फाइल (बुकलेट) तयार हुन्छ । यो डकुमेन्ट अनलाइनबाट भवन निर्माण इजाजतका लागि पेस गरिन्छ । सामान्यतया यो प्रक्रियाका लागि घरधनीले इञ्जिनियर वा परामर्शदाताको सहयोग लिएका हुन्छ । यसरी पठाइएको विवरण ठिक छ कि छैन भनेर घरधनी महानगरपालिकामा जाँच गर्न आउँदा बायोमेट्रिक लिइने हो ।

पाण्डे भन्छन्, ‘महानगर आउँदा घरधनीले लालपूर्जा र नापी नक्साको सक्कल लिएर आउनुपर्छ । विवरण दोहोरो नहोस् भनेर हेर्नका लागि यो चाहिएको हो । सक्कल कागजपत्र तत्काल फिर्ता हुन्छ ।’

एकपटक बायोमेट्रिक गरिसकेपछि घरधनीले जहाँ जहाँ हस्ताक्षर गर्नुपर्ने हो, त्यो ठाउँमा प्रणालीले नै हस्ताक्षर राखिदिन्छ । 

यो प्रणालीलाई अहिले सम्पत्ति कर आबद्ध भइसकेको छ । बैङ्किङ प्रणालीसँग अटोमेसन भइसकेको छ । भवन नक्सा स्वीकृतिका लागि तिर्नु बुझाउनु पर्ने सबै प्रकारका शुल्क मोबाइलबाटै तिर्न सकिन्छ । प्रणालीमा घरधनीकै मोबाइल नम्बर हुने भएकोले प्रमाणीकरण गर्न सहज हुनेछ । 

सम्पत्ति करसँग प्रणाली आबद्ध भइसकेकाले सम्पत्ति कर तिरेको ट्याक्स पेयर कोड (संकेत नं.) राखिसकेपछि मात्र पेज खुल्छ ।


 


Author

थप समाचार
x