समाज

राष्ट्रिय युवा परिषद्‌ र नेपाल जेसिसबीच युवा विकासमा सहकार्य गर्ने समझदारी

इकागज |
फागुन १७, २०८० बिहीबार १०:३८ बजे

काठमाडौँ- नेपाल सरकारअन्तर्गतको राष्ट्रिय युवा परिषद् र नेपाल जेसिसबीच युवा नेतृत्व विकास र नीति प्रवर्द्धनका साझा क्षेत्रमा काम गर्ने नीतिगत समझदारी भएको छ । जेसिसको सन्‌ २०२४ को नेसनल काउन्सिलर्स एकेडमीको उद्घाटन समारोहमा समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

चितवनको सौराहामा आयोजित कार्यक्रममा बागमती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवाका क्षेत्रमा सरकारी तथा गैरसरकारी क्षेत्रले सँगसँगै मिलेर काम गर्नुपर्ने बताइन्। मन्त्री मोक्तानले युवाका साझा समस्या समाधानका लागि साझा प्रयास आवश्यक भएको बताइन् ।


समझदारी पत्रमा राष्ट्रिय युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र नेपाल जेसिसका अध्यक्ष रविन पोखरेलले हस्ताक्षर गरेका छन् । परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाको क्षेत्रमा विगत ६ दशकदेखि निरन्तर क्रियाशील नेपाल जेसिससँगको सहकार्यले युवा विकासमा सकारात्मक आयाम थपिने बताए ।

नेपाल जेसिसका अध्यक्ष रविन पोखरेलले युवाको क्षेत्रमा कार्यरत आधिकारिक सरकारी निकायसँगको सहकार्यले नेपाल जेसिस उत्साही भएको बताए । पोखरेलले आफ्नो कार्यकालमा परिषद्‌सँग मिल्न सकिने विषयमा मिलेर काम गर्ने बताए ।

समझदारी पत्रमा युवालाई नीति निर्माणतहदेखि कार्यान्वयन तहसम्म अधिकतम् सहभागी गराउन, युवाको नेतृत्व तथा व्यक्तित्व विकासमा टेवा पुर्‍याउन र समयानुकल युवा नीति निर्माण गर्न सहकार्य गरिने बताइएको छ । समझदारी पत्रमा हस्ताक्षर गर्ने समारोहमा चलचित्र महानायक राजेश हमाल , बागमती प्रदेश युवा परिषद्‌का कार्यकारी उपाध्यक्ष सन्तोष चौलगाईंलगायतको उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x