समाज

बानेश्‍वर र सिंहदरबारको फुटपाथमा लगाइएको प्रतिबन्ध हट्यो

इकागज |
फागुन १७, २०८० बिहीबार १०:४७ बजे

काठमाडौँ- बानेश्‍वरको संघीय भवन र सिंहदरदरबार वरपरको फुटपाथमा लगाएको निषेधित क्षेत्र हटाइएको छ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी हरिप्रसाद शर्माले फुटपाथमा प्रतिबन्ध लगाउने भनेर नभइ अल्पकालीन रुपमा लगाइएको प्रतिबन्ध हटाइएको जानकारी दिए ।

‘बानेश्‍वर र सिंहदरबारको फुटपाथमा लामो समयका लागि प्रतिबन्ध थिएन । अल्पकालीन समयका लागि थियो,’ उनले भने,’ केही अवाञ्छित गतिविधि नहोस भनेर हिजो र अस्ति लगाइएको थियो ।‘


प्रतिबन्ध नलगाको केही दिनका लागि सांकेतिक प्रतिबन्ध भएको शर्माको भनाइ छ । ‘सायद आजदेखि प्रतिबन्ध फुकुवा गरिएको छ,’ उनले इकागजसँग भने ।

माइतीघरमा लगाएको प्रतिबन्ध फुकुवा गर्ने नगर्ने यस विषयमा हामीले छलफल चलिरहेको उनले बताए । सर्वसाधारणको गुनासो र आवाज सुनिरहेको उनको भनाइ छ ।

‘सडकलाई आन्दोलनको क्षेत्र बनाउँदा ट्राफिक अस्तव्यस्त हुने गर्छ,’ उनले थपे,’ आन्दोलन तथा विरोधका कार्यक्रम गर्न खुला मञ्चलाई प्रयोग गर्ने गरी छलफल भइरहेको छ । सबैले त्यतातिर पनि ध्यान दिनुपर्छ ।‘

खुला मञ्च पनि एक-दुई महिनामा निर्माण सम्पन्न भएपछि सबैका लागि खुला हुन सक्ने उनले जानकारी दिए । सम्पूर्ण आन्दोलनको कार्यक्रम खुला मञ्चमा हुनुपर्ने उनले जोड दिए ।

माइतीघर निषेधित क्षेत्र हटाउने भनेर छलफल भइरहेको उनको भनाइ छ । ‘सडकलाई आन्दोलनको स्थल बनाउन नहुने गरी एकमत हुनुपर्छ,’ उनले भने ।

सोमबार लघुवित्तका ऋणी संसद् भवन परिसरभित्र छिरेपछि प्रहरीले ४८ महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको थियो । उनीहरूको प्रवेशपछि बानेश्वर र सिंहदरबारको फुटपाथमा प्रतिबन्ध लगाइएको थियो ।

पक्राउ परेकाहरूलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि हिरासतमा राख्‍न उनीहरूलाई सात दिनको म्याद थप गरिसकेको छ ।

 

 


Author

थप समाचार
x