समाज

लोकतन्त्रमा आन्दोलन गर्न रुट नखोज्‍ने मिटरब्याज पीडितहरू...

अतिन आचार्य |
फागुन १७, २०८० बिहीबार १८:१० बजे

काठमाडौँ- 'लोकतन्त्रमा आन्दोलन गर्न रुट लिन पर्दैन । गाडी चलाउनेले पो रुट अनुमति लिनुपर्छ,' माइकबाट एक्कासि आवाज आयो । प्रहरीले मिटरब्याजीहरूलाई घेरेको थियो । 'जिल्ला प्रशासन कार्यालयको अनुमति लिएर मात्र आन्दोलन गर्न पाइन्छ,' प्रहरीले माइकबाट भनिरहेका थिए ।

यतिखेर भृकुटीमण्डप प्रदर्शनी हलको पछाडि भागमा मिटरब्याजी पीडितहरू पाल टाँगेर बसेका छन् । पूर्व मेचीदेखि पश्‍चिम महाकालीसम्मका उनीहरू त्यहीँ वरपर ओहोरदोहोर गरिरहेका छन् ।


आफ्नो आँगनबाट २६ दिन पैदलै आएका उनीहरू राज्यले मिटर ब्याजबाट उन्मुक्ति दिलाउने आशामा छन् । करिब ११ सय महिला तथा पुरुषहरू काठमाडौँमा गुमेको सम्पत्ति फिर्ता पाइने आशाले उनीहरूलाई ल्याएको छ ।

११ सय मानिसको भीडमा सर्लाही मलंगवा ६ का मोहम्मद असीम लहेरी बसेका टुक्रुक्क छन् । सेतो फुलेको दारी, हातमा लालपुर्जाको फोटोकपी र खाली खुट्टा बसेका छन् ।

उनले डेढ दशकअघि घर खर्च चलाउन गाउँकै साहुसँग ३० हजार ऋण लिए । रामसोरुप रायसँग कागजमा हस्ताक्षर गरेर उनले ३० हजार रुपैयाँ लिए । उनी पेशाले लुगा बेच्थे, समय-समयमा साहुलाई पनि पैसा बुझाउँथे ।

‘गाउँमा साहु-महाजनको छोरीको बिहे हुँदा लुगा र १५ हजार बुझाए,’ उनले भने,’ साहुले त्यो पैसाको हिसाब गरेनन् । पैसा माग्न आइरहन्थे । ब्याज स्वरूप केही पैसा दिइरहन्थे ।‘

साहुकोमा पुग्दा पनि उनले धम्की मात्र पाउँथे । ’ट्वाइलेटमा लगेर थुनिदिन्थे । तिम्रो नामको जग्गा मालपोतमा गएर मेरो नाममा पास गर भनेर धाक धम्की दिइरहन्थे,’ साहुको ज्यादती सम्झँदै भने ।

रामसोरुपले पैसा लिएको एक वर्षपछि जिल्ला अदालत सर्लाहीमा मुद्दा हाले । मुद्दा हालेको मोहम्मदलाई थाहा थिएन । अदालतबाट एक्कासि चिठ्ठी आउँदा मात्र उनी झस्किए ।

साहुको एक लाख बढी पैसा ऋण लिएकाले मुद्दा परेको थाहा पाए । उनको दैनिकी फेरियो । लुगा बेच्न हिँड्ने पैतालाहरू अदालततिर लम्कन थाल्यो ।

उनले मुद्दा हारे क्षतिपूर्तिसहित अदालतले सलिमको सम्पत्ति जायजेथाबाट भर्न आदेश दियो । अदालतको आदेश बमोजिम मोहम्मदको जग्गा आफ्नो नाममा पारे ।

उनको ७ कट्ठा १० धुर जग्गा साहुँको कब्जामा छ । त्यो जग्गा अहिले उनले ससुराको नाममा सारिसकेका छन् । पुरानो पैसा चुक्ता गर्दा पनि उनले दिन नमानेको उनी बताउँछन् ।

‘सरकारलाई आफ्नो व्यथा सुनाउन आएको छु । सरकारले हामीलाई सुनेमा हाम्रो गुमेको जग्गा फिर्ता आउँथ्यो,’ ७८ वर्षीय मोहम्मदले इकागजसँग भने,’ सरकारकोमा कसरी पुग्ने हो । बाटोमा हिड्न दिदैँनन् । हामीलाई सरकार र साहुले उठीबास लगायो ।‘

भृकुटीमण्डपमा भेटिएका अर्का पीडित जोखनदास तक्माको पनि मोहम्मदको जस्तै व्यथा छ । मधेश प्रदेशमा जसरी तापक्रम बढ्दै गयो उनको परिवारमा मिटरब्याजको ऋण उकालो लाग्दै गयो ।

त्यस बुबाले घर खर्च चलाउन भनेर साहुसँग २३ हजार ८ सय ऋण लिए । सर्लाही बसबरिया २ का रामकृष्ण रायसँग उनका बाबुले कपाली तमसुक गरी ऋण काढे ।

झण्डै तीन दशकअघि उनका बुबाले ऋण लिएका थिए । साहुसँग तीन पटक गरेर ५० हजार ऋण पुर्‍याए । ऋण तिर्ने समय बित्दै गएपछि ऋण पनि तिरेको उनले बताए ।

‘तमसुक र कपाली खोज्दा साहुले १ लाख २ हजारको कागज बनाएको रहेछ,’ उनले साहुले ठगेको कुराहरू सुनाए,’ तमसुक खोज्दा २-४ महिनामा दिन्छु भनेका थिए । तर महिना बित्यो न तमसुक देखाएन न त पैसा सबै तिरेको कागज चुक्ता गरे ।‘

पैसा तिरेको ६ महिनामा जिल्ला अदालतबाट मुद्दा परेको जानकारी पाए तक्मा परिवारले । उनीहरूको समय अदालतमा बित्‍न थाल्यो । जिल्ला अदालतमा तीन वर्षसम्म मुद्दा लडे ।

तक्मा परिवारले अन्ततः रायसँग मुद्दा हारे । रायले कानुनी प्रक्रिया पुरा गरेर १५ कट्ठा ५ किता जग्गा उनको नाममा पारे । ‘हामी कमजोर भएकाले साहुले पैसा र राजनीतिको पावर देखाएर हाम्रो सम्पत्तिमाथि कब्जा जमाएका छन्,’ उनी भन्छन् ।

तक्मा परिवारले हार मानेनन् । जिल्लामा हारेपछि उनीहरू सर्वोच्च पुगे । २२ वर्षसम्म जग्गा फिर्ता ल्याउन मुद्दा लडे पनि फिर्ता लिन नसकेको जोखनदास बताउँछन् ।

‘सर्वोच्चले यसपालि मुद्दाको फैसला गरिदियो । तर हाम्रो पक्षमा गरिदिएन,’ ४३ वर्षीय जोखनदासले मलिन स्वरमा भने,’ हामीसँग शक्ति र पैसा नभएकाले वकिल लगाउन नसक्दा हारिम ।‘

जोखनदासले सबै १५ कट्ठा जग्गा उसले प्रयोग गर्न नपाएको बताए । ‘९ कट्ठा हामीले कब्जा गरेर राखेर राखेका छौँ । जुन जग्गा बाँझै छ । ६ कट्ठा जग्गा भने उसले आफ्नो सालोको नाममा दिएको छ,’ उनले थपे ।

सरकारले मिटरब्याज पीडितले जिल्ला प्रशासन कार्यालयमा मुद्दा हाल्ने भनेपछि उनलाई आशा पलाएको छ । गत असारमा उनले जिल्ला प्रशासनमा मुद्दा हालेको बताए ।

‘सरकारले गुमेको जग्गा फिर्ता गराउन पहल र ठोस निर्णय गरोस् ।  उधारो वाचा लिएर फर्किँदैनौ,’ उनी दृढ सुनिन्छन् ।

त्यसैगरी, सर्लाही बसबरिया ५ का रुमलाल दासले तीन वर्षअघि छोरीको बिहे गर्न ५ लाख ऋण लिए । निर्धन बैँकबाट १५ रुपैयाँ ब्याजमा लिखित सहमति गरेर ऋण लिए ।

महिनाको १० हजार ब्याज बुझाउँदै आएको उनले बताए । साढे ६ कट्ठा जमिन धितो राखेर उनले ऋण लिए । अहिले बैंकले महिनैपिच्छे ताहुँ र ब्याज फिर्ता गर भनेर आइरहेको उनको भनाइ छ ।

‘बैंकले ब्याज मात्र ३ लाख रुपैयाँ लिइसकेको छ,’ दास भन्छन्,’साहु भन्दा पनि ब्याज धेरै भइसकेको छ । हामीलाई बैंक र साहुको समस्याले गाउँबाट उठीबास लगाउने भइसक्यो ।'

राज्यले हामीलाई बास देओस नत्र ऋणबाट मुक्त दिलाइदिनु पर्ने उनले धारणा राखे ।


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x