समाज

भारतीय सवारीलाई नाकाबाटै रुट पर्मिट सेवा सुचारु

इकागज |
फागुन १९, २०८० शनिबार १९:१५ बजे

भैरहवा- यातायात व्यवस्था सेवा कार्यालय भैरहवाले भैरहवा भन्सार कार्यालयबाटै अस्थायी पटके इजाजत पत्र (रुट प्रमिट) सेवा सुरु गरेको छ । स्थलमार्ग हुँदै सबैभन्दा बढी पर्यटक भित्रिने नाकाको रूपमा रहेको बेलहिया नाकामै पर्यटकलाई लक्षित गर्दै सेवा सुरु गरिएको हो ।

अब भारतीय पर्यटकहरू भन्सारसँगै रुट पर्मिटको सेवा भन्सार परिसरबाटै पाउने छन् । शुक्रबार प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले भारतीय नागरिक ध्रुव सिंहलाई काठमाडौँसम्म चार दिनका लागि रुट प्रामिट दिई सेवा सुरु गरिएको हो । 


भारतीय पर्यटकलाई नाकामै रुट प्रमिट दिन थालेपछि यातायात व्यवस्था सेवा कार्यालय पुग्नु पर्ने बाध्यता अब हटेको छ । भन्सार कार्यालयले भौतिक सहयोग गरेसँगै यो सेवा भन्सारमै थपिएको यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख ईश्वरी अर्यालले बताए ।

दैनिक दुई सयको हाराहारीमा पटके सेवा लिने गरेकोमा सीमित जनशक्ति भए पनि अधिकांशको माग बमोजिम सीमा विन्दुमा नै सेवा सुरु गरिएको छ । यसको दिगो संचालनका लागि सबैको सहकार्य हुन जरुरी रहेको उनले बताए ।

नेपाली सवारीसाधनको ५० किलोमिटरसम्म १ सय १० रुपैयाँका दरले राजश्व बुझाउनु पर्छ भने भारतीय मोटरसाइकलको हकमा प्रतिदिन २ सय, मझौला गाडीको हकमा प्रतिदिन ५ सय र ठूला बसको दैनिक ७ सयको दर राजश्व बुझाई इजाजत पत्र दिने व्यवस्था छ । इजाजत पत्रका लागि बुटवल बसपार्कमा पनि काउन्टर रहेको छ । भन्सारले इजाजत दिएको दिनसम्म मात्रै यातयातले पटके दिने गरेको कार्यालय प्रमुख अर्यालले जिकिर गरे । 

सेवा सुभारम्भको अवसरमा बोल्दै प्रजिअ अर्यालले पटके इजाजत लिनका लागि पर्यटकहरू भौतारिँदै गरेको र सरोकारवाल निकायको माग भएकै कारण सम्बन्धित निकायमा पहल गरेर पर्यटकका लागि सेवा सुरु गरिएको बताए ।

कार्यभार सम्हालेदेखि नै सबैको समस्या आफ्नो समस्या जस्तै ठानेर काम गरिरहेको छ, अझै पनि धेरै काम गर्नुपर्ने भएकोले सहकार्य तथा समन्वय गर्नुपर्ने उनको भनाइ छ । 

प्रजिअ अर्यालले यो पहिलो अध्याय भएको र दोस्रो अध्यायको रूपमा सीमामा चेकजाँच प्रणलीलाई एक ठाँउमा व्यवस्थित गर्ने तेस्रो अध्यायमा नेपाल प्रवेश गर्नै सबै जना वाल्क थ्रु गेट हुँदै परिचय पत्र देखाएर मात्रै नेपाल प्रवेश गर्ने व्यवस्थापनका लागि गृहकार्य भएको बताए ।

यातायात कार्यालयले २०६८ सालदेखि पटके सेवा संचालन गरेको भएपनि भैरहवामा आर्थिक वर्ष २०७१/७२ बाट सेवा इकाई कार्यालयको स्थापनासँगै रुट प्रमिट दिँदै आएको थियो । तत्कालीन समयमा सिद्धार्थ उद्योग वाणिज्य संघको भौतिक सहयोगमा नेशनल ट्रेडिङमा कार्यालय स्थापना भएपनि हाल अञ्चलपुरमा कार्यालय रहेको छ ।

कार्यालयले वार्षिक ३५ करोड बढी राजश्व उठाउँदै आएको छ । सीमामै सेवा दिन थालेपछि राजश्वमा पनि बढोत्तरी हुने यातयात कार्यालयको अपेक्षा रहेको छ । 

कार्यालयले निकट भविष्यमा प्रदूषण मापनको स्वीकृत दिने व्यवस्थाको पनि थालनी गर्न लागेको कार्यालय प्रमुख अर्यालले उल्लेख गरे । 'हामीसँग सवारीसाधनको प्रदूषण मापन यन्त्र आइसकेको छ, प्रदेश सरकारको मन्त्रालयबाट स्टीकर नआइसकेको कारण सेवा सुरु भएको छैनौँ अबको केही समयमै सेवा थप हुने,' उनले भने ।

पटके शाखा सेवा संचालनको क्रममा बोल्दै यातयात व्यवसायी सियाराम यादवले नेपाली गाडीहरूका लागि रुट प्रमिट लिन सीमामा पुग्नु पर्दा अपायक हुने हुँदा कार्यालयबाट पनि सेवा सुचारु गर्नुपर्ने बताए ।

यस्तै पर्यटन व्यवसायी चन्द्र प्रकाश श्रेष्ठ, उद्योग व्यपार संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, सिदार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, भैरहवा भन्सार कार्यालयका प्रमुख नारद गौतम, पर्यटन व्यवसायी संजय बजिमय, कार्यालयका अधिकृत नरबहादुर अर्याल लगायतले सेवा संचालनसँगै भारतीय पर्यटक गाडीलाई सहज हुने बताए । 


Author

थप समाचार
x