समाज

मोरङ किशोरी हत्या प्रकरण

ज्ञानमतिलाई बिहे गरेको भन्दै भारत छिराउने प्रयासमा पहिला नै पक्राउ परेका थिए चौधरी

इकागज |
फागुन २२, २०८० मंगलबार १८:२५ बजे

मोरङ- मोरङको पथरी शनिश्चरे-७ स्थित लामाटोलीमा सोमबार राति १५ वर्षीया किशोरी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । अभियुक्तले राति करिब १० बजे सन्जना भन्ने १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या धारिलो हतियारले घाँटी र पातामा प्रहार गरी वीभत्स हत्या गरेका थिए । राई शौचालय गएको मौका पारेर खुकुरी प्रहार गरेर अभियुक्त फरार भएका थिए ।

खुकुरी प्रहारबाट किशोरीको गर्धनको आधा भागसम्म काटिनुको साथै दाहिने, देब्रे पाता र अनुहार गरी चार वटा ठूलाठूला चोट हुने गरी खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट किशोरीको गालाको भागहरू र कपाल छिनेर भुईँमा खसेको अवस्थामा भेटिएको थियो ।


ज्ञानमतिको शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । खोटाङबाट परिवार आएपछि पोष्टमार्टम गरिने बताइएको छ । जेठी पट्टीको दाजु सोमकुमार राई भने हिजै आएका छन् । 

प्रहरीले मोरङ ग्रामथान-४ का ३८ वर्षीय धिरेन्द्र चौधरीलाई पक्राउ गरेको छ । किशोरीको वीभत्स हत्या भएपछि जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी नवीन कार्कीको टोली राति नै घटनास्थल पुगेर विहान ३ बजेसम्म अनुसन्धानमा खटिएका थिए । 

ज्ञानमति राई खोटाङ ऐसेलुखर्क-६ सल्लेकी हुन् । बाबुको मृत्युपछि मामा, छोरी र पछि छोराको घरमा बसेर कक्षा ७ मा पढ्दै थिइन् । मामाको छोरा बिनोद राईको घर, दोकानमा सघाउँदै पथरीको पञ्चायत माविमा अध्ययन गर्दै आएकी थिइन् ।

प्रहरी नियन्त्रणमा रहेका धिरेन्द्र चौधरी भूपू प्रहरी समेत रहेको बुझिएको छ ।

चौधरीले गत असारमा ज्ञानमति राईलाई बिहे गरेको भन्दै भारत छिराउने क्रममा जोगवनीबाट माइती नेपालले पक्रेको थियो । गत असार १३ गते चौधरी र राईलाई नाकामा पक्रेर आफन्तलाई जिम्मा लगाएका थिए ।

ज्ञानमतिसँग मोबाइल फोन नभए पनि आफन्तहरूको नम्बर पत्ता लगाएर फोन गर्दै कुरा गर्न खोज्ने, बोलाइ माग्ने गर्दै आएका थिए । ज्ञानमतिको फोटोहरू राखेर फेसबुक आइडी पनि चौधरीले खोलेर चलाउने गरेको पीडित परिवारले जनाएको छ । 

ज्ञानमति जोगवनीबाट फर्काइएपछि धिरेन्द्र चौधरीले आफूलाई मगर र विवाह नभएको भनेर ढाँटेको बताएका थिए । यद्यपि चौधरीकी श्रीमती र छोराछोरी छन् । 

घटना क्रमसँगै ज्ञानमतिको हत्यापछि प्रहरीको अनुसन्धान चौधरीतिर केन्द्रित भएको थियो । घटना नजिकै खुकुरीको दाप फेला पर्नुको साथै शङ्कास्पद व्यक्तिको खुट्टाको पाइलाहरू सुरक्षित गरेर अनुसन्धान गरेका थिए ।

घटना भएको केही बेरमै इलाका प्रहरी कार्यालयका निमित्त प्रमुख इन्स्पेक्टर शुसिल पाण्डे, सशस्त्र लगायत प्रहरी टोली घटनास्थल पुगेर कुकुरसमेत लगाएर अनुसन्धान सुरु गरेका थिए । पक्राउ परेका चौधरीले घटना स्वीकार गरेको समेत प्रहरीले स्रोतले जनाएको छ ।


Author

थप समाचार
x