समाज

शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने तीनजना पक्राउ

इकागज |
फागुन २२, २०८० मंगलबार २०:४० बजे

काठमाडौँ- प्रहरी प्रधान कार्यालयको साइबर ब्यूरोले शैक्षिक गतिविधि सहजीकरण गर्ने बहानामा अनलाइन ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा Manaslu Educational Services (https://instagram.com/ manaslu.education) भएको इन्स्टाग्राम एकाउन्टमार्फत PTE (Pearson Test of English ) बुक गरिदिन्छु भनि अग्रिम रूपमा अनलाइन वालेटमा रकम जम्मा गर्न लगाई विद्युतीय माध्यम सम्बद्ध ठगीको उजुरीका आधारमा अनुसन्धान गर्ने क्रममा ब्यूरोले उनीहरूलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेहरूमा बाँके, कोहलपुर नगरपालिका-१४ स्थायी वतन भएका वर्ष २२ का तिरुपति पाण्डे, कोहलपुर-११ स्थायी वतन भएका वर्ष २० का दोमन केसी र बाग्लुङ काठेखोला गाउँपालिका वडा नं. ८ स्थायी वतन भएका वर्ष २० का सुवास कँडेल रहेका छन् ।

प्रहरी उपरीक्षक प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीका अनुसार उनीहरूलाई गोठाटार काठमाडौँबाट पक्राउ गरी विद्युतीय माध्यम सम्बद्ध ठगी कसुरमा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप लिई अनुसन्धान भइरहेको छ । उनीहरूको साथबाट विभिन्न मोडलका मोबाइल सेटहरू थान ८, सिम कार्डहरू थान २३ तथा ल्यापटप थान २ समेत साथबाट बरामद भएको उनले बताए । 


Author

थप समाचार
x