समाज

शिव पार्वती रथयात्रा भव्य रूपमा सम्पन्न, १०८ फिट अग्लो मूर्ति निर्माण द्रुत गतिमा

इकागज |
फागुन २४, २०८० बिहीबार १५:३९ बजे

काठमाडौँ- शिवरात्रिको पूर्वसन्ध्यामा मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव तान्त्रिक बुद्धिकुमार गुरुको नेतृत्वमा शिव पार्वती रथयात्रा फागुन २३ गते सम्पन्न भएको छ । ललितपुरको बालकुमारी मन्दिरबाट दर्जनौं गाडीमा हजारौं संख्यामा भक्तजन बाजा गाजा तथा झाँकी जुलुससहित भक्तपुर सुडालको कलमसिमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको शिवमूर्ति भएको स्थानमा पुगेका थिए । शिवरात्रिको सो अवसरमा १०८ फिट अल्लो मूर्ति भएको मन्दिर परिसरमा विशेष पूजाआजा समेत सम्पन्न गरिएको थियो ।  साथै औपचारिक कार्यक्रम समेत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रतिनिधि सभा सदस्य भक्तपुर २ नं क्षेत्रका सांसद दुर्लभ थापा, विशिष्ट अतिथि प्रदेश सांसद सुरेश श्रेष्ठ, पूर्वराज्यमन्त्री तारामान गुरुङ, अर्का आकर्षक व्यक्ति अन्तर्राष्ट्रिय गुरु स्वामी श्री १००८ सत्यदेव महाराजको समेत उपस्थिति रहेको थियो । प्रमुख अतिथि दुर्लभ थापाले एउटा सामान्य परिवारमा जन्मेर शिव तान्त्रिक बुद्धिकुमार गुरुले अत्यन्तै सराहनीय काम गरेको बताए । उनले भने, ‘यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको मूर्ति निर्माणले भक्तपुर चाँगुनारायणको मात्र होइन देशको पहिचानलाई नै उच्च राख्ने छ । दुई वर्षभित्रै यहाँका सम्पूर्ण कामहरूलाई सक्नुपर्छ । धार्मिक पर्यटनको रूपमा यस ठाउँलाई विकास गर्नुपर्छ ।’


कार्यक्रमको अध्यक्षता गरेका मानव कल्याण आध्यात्मिक प्रतिष्ठानका संरक्षक शिव तान्त्रिक बुद्धिकुमार गुरुले भक्तजनहरूलाई आशिरचन समेत बक्स भएको थियो । उनले भने, ‘हामी सबै नेपाली आमाका सन्तान हौं, हामी सबैको जीवन अत्यन्त छोटो छ । हामी सधैं सत्यको मार्गमा हिँड्नु पर्छ । मनुष्य जीवन अत्यन्त महत्वपूर्ण छ । यो छोटो जीवनमा हामी सबैले परमार्थको काम गर्नुपर्छ ।’

उनी भन्छन्, ‘मैले यस ठाउँमा १०८ फिट अल्लो कल्पेश्वर महादेवको मूर्ति निर्माणको काम जसरी पनि पूरा गर्ने अठोट लिएको छु । बरू एक छाक खान किन छोड्नु नपरोस् । तर, पूरा गर्दछु ।’ सो काम गर्न अहिलेसम्म १४ करोड रुपैयाँ खर्च भएको समेत उनले बताए ।

शिव पार्वती रथ यात्राको कार्यक्रममा स्वामी श्री १००८ सत्यदेव महाराजले समेत भक्तजनहरूलाई आशिरचन दिएर भक्तजनहरूलाई उत्साहित गरे । कार्यक्रममा अतिथिका रूपमा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइला, चाँगुनारायण नगरपालिकाका ८ नं वडा अध्यक्ष जनक खत्री, पूर्व प्रदेशमन्त्री कृष्णलाल भडेल, बागमती प्रदेशका मुख्यमन्त्रीका सल्लाहकार डिपी ढकालको समेत सहभागिता रहेको थियो । शान्तिको कामना गर्दै ६ वटा सेतो परेवा समेत सो अवसरमा उडाइएको थियो । 

मानव कल्याण आध्यात्मिक प्रतिष्ठानले आफ्नो प्रस्तावना र उद्देश्य अनुरूप मानव कल्याणका महत्वपूर्ण कार्य तथा धार्मिक प्रचारप्रसारमा लागिरहेको छ । धार्मिक कार्यलाई विज्ञानसँग र सेवासँग जोड्दै अघि बढिरहेको छ । गुरुको संरक्षकत्वमा प्रतिष्ठानले १०८ फिटको विश्वको सबैभन्दा ठूलो शिव मूर्ति बनाउँदैछ । ५४ रोपनी क्षेत्रफलमा फैलिएको जमिनमा शिव पार्वती मन्दिर २७ फिट नाग देवता, २७ धारा गोसाइँकुण्ड, विष्णुकुण्ड, विद्यालय, पुस्तकालय, बाल आश्रम, वृद्धाश्रम, अतिथि गृह, भोजनालय, फनपार्क, गौमातागृह, प्रवेशद्वार जस्ता कार्यहरू गर्दैछ । यहाँ २६ ओटा परियोजना समावेश छन् । समग्र परियोजना सम्पन्न हुन १ अर्बभन्दा बढी लागत लाग्ने अपेक्षा गरिएको छ । यो परियोजना सम्पन्न गर्नका लागि शिव तान्त्रिक गुरु, विभिन्न संघ सस्था, सरकारी निकाय तथा भक्तजनहरूको सहयोग लिई अहोरात्र खटिरहेका छन् । 


Author

थप समाचार
x