डडेलधुरामा सुन चोरेका दुई अभियुक्त रौतहटबाट पक्राउ
सांकेतिक तस्बिर
रौतहट- डडेलधुरा जिल्लामा सुन चोरीको घटनामा संलग्न रहेका दुई जना मानिस रौतहटबाट पक्राउ परेका छन् ।
केही दिनअघि भएको चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले रौतहटबाट दुई जनालाई पक्राउ गरेको हो । रौतहटको चन्द्रपुर नगरपालिका ४ चनद्रनिगाहपुरस्थित बाटोमा हिँडिरहेको अवस्थामा डडेलधुरामा सुन चोरी गरी बारदातपछि फरार रहेका दुवै जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका इन्स्पेक्टर रमाशंकरप्रसाद यादवको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् ।
पक्राउ पर्नेमा रौतहट चन्द्रपुर ९ बस्ने भिमबहादुर विश्वकर्माको छोरा वर्ष ४० को सुरेन्द्र विश्वकर्मा र सप्तरी दुहबि नगरपालिका ४ बस्ने भैरव विश्वकर्माको छोरा वर्ष ४४ को शंकर विश्वकर्मा रहेको प्रवक्ता गिरीले जानकारी दिएकी छन् ।
पक्राउ परेका दुवै जना आरोपीलाई डडेलधुराबाट खटिआएका इन्स्पेक्टर कुसुम नायकको जिम्मा लगाई पठाइएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
इन्स्पेक्टर नायकका अनुसार डडेलधुरा जिल्लाको अमरगढी नगरपालिका ५ स्थित विजय साह सोनारको सुन चाँदी पसलमा गत १४ गते राति ९ बजे २० ग्राम सुन चोरी भएको थियो । अनुसन्धानमा उक्त घटनामा शंकर विश्वकर्माको संलग्नता देखिएको थियो । घटनाबारे अर्का आरोपी सुरेन्द्र विश्वकर्मालाई पूर्ण जानकारी रहेको थियो । तर, उनले प्रहरीलाई असहयोग गरेको कारण दुवै जनालाई पक्राउ गरिएको इन्स्पेक्टर नायकले जानकारी दिए । दुवै जनालाई डडेलधुरामा आवश्यक कारबाही गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
सैयौं किलोमिटर टाढा डडेलधुराबाट मात्र २० ग्राम सुन चोरी भएको १० दिनभित्रै आरोपीलाई रौतहटबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया