समाज

नारा र ‍औपचारिकतामा सीमित महिला दिवस

सुभद्रा धिताल |
फागुन २५, २०८० शुक्रबार १९:२१ बजे

काठमाडौँ- 'महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नारासहित ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएकाे छ । हरेक वर्ष यस्तै नारा दिएर संसारभर आज कै दिन महिला दिवस मनाइन्छ ।

यस्ता दिवसले मात्रै महिलाहरूको जीवनमा कस्तो प्रभाव वा असर पारिरहेको छ भन्ने प्रश्नको जवाफ भने कहीँकतैबाट आएको देखिँदैन । अहिले समाजमा विभेद र असमानताको अर्को स्वरूप देख्न पाइन्छ । महिलाहरू पुरुषबाट अपहेलित हुनु त परेको छ नै यसको स्वरूपले रङ फेर्दा महिला महिलाबाटै अपहेलित हुनु परिरहेको छ । यसको ज्वलन्त उदाहरण हाम्रै घरपरिवार र समाजमा देख्न सकिन्छ 


महिलाका हक, अधिकारका लागि लड्छु भन्नेहरू पनि घरमा पितृसत्तात्मक सोचले ग्रस्त भएका पाइन्छन् । घरमा सासूले बुहारीमाथि गर्ने विभेद होस् या ससुराले बुहारीमाथि गर्ने विभेद, दुवैको स्वरूप फरक होला तर त्यसबाट पीडित एउटी महिला नै हुन्छे । तर, पनि परम्परागत रूपमै चलेको छ महिला दिवस । कसैले यो भन्दैन कि हामीले आफ्नै घरबाट विभेदपूर्ण व्यवहारको अन्त्य गरौँ ।

समाजमा देखासिकी गर्नेहरू एक दिन महिला दिवस मनाएर उनीहरूका हक, अधिकारका बारेमा चर्को-चर्को भाषण गर्छन् । र, राति घर गएर बिहान सुतेर उठ्दा  हिजोका सबै भुल्छन् अनि सुरु हुन्छ उस्तै विभेद र अपहेलना । 

रुकुम घर भएकी एक महिला जो एउटी बुहारी हुन् । उनका लागि हरेक वर्ष आउने महिला दिवसले मनमा पीडा भरिदिन्छ । उनी आफ्नी सासू, ससुरा, श्रीमान् र दुई बच्चासित काठमाडौँमा बस्छिन् । उनको बिहे भएपछि सासूले छोरी र बुहारीबीच गर्ने विभेदको सिकार बन्नलाई धेरै दिन कुर्नु परेन । सासू र आमालाई समान रूपले हेर्ने उनी सासूको त्यस्तो विभेदपूर्ण व्यवहारले आजित छिन् । 'अब त बानी परिसक्यो विभेद सहने । बिहे गरेको यत्तिका वर्षमा त केही परिवर्तन आएन अब आउला भन्ने सोच्दिनँ,' नाम नखुलाउने सर्त राख्दै उनले आफ्नो मनमा भएका पीडा पोखिन् । 

३ सय ६५ दिनमध्ये एक दिनमात्रै नारीका लागि विशेष दिन हो भनेर सोच्नु पर्ने बेला भएको छ । सृष्टि निरन्तरता लागि दुवैको बराबर हात हुने भए पनि यहाँ नारी र पुरुषमा समान व्यवहार गरिँदैन ।

 

सानै उमेरमा बाबाआमाले अन्माएर पठाएपछि आफ्नो सबथोक त्यही घरपरिवार हो भनेर मन शान्त बनाएर बसिन् । तर, बाबाआमाको घरमा विभेदमा नपरेकी उनलाई श्रीमानको घरमा आएपछि विभेदको सामना गर्नुपर्यो । 

'सुरुमा त मलाई केही थाहै थिएनँ, पछि-पछि बिस्तारै विभेदबारे थाहा पाएँ । मेरो सासूले मलाई र मेरो नन्दलाई गर्ने व्यवहार पूरै फरक छ । उहाँले मलाई र उहाँकी छोरीलाई कहिल्यै एउटै नजरले हेर्नु भएन,' उनले मुस्कुराउँदै भनिन्, 'सुरुमा त गाह्रो भयो तर अहिले बानी परिसक्यो ।' यो दिवस महिलाहरूको हक, अधिकार र समानताको पक्षमा मनाइने गर्छ भन्दा उनी हाँसेरै उडाइदिन्छिन् ।

छोरी र बुहारीबीचको विभेद सहने उनी मात्र होइन यस्ता बुहारीहरूको संख्या हाम्रो समाजमा थुप्रै छन् । यो त भयो एउटी महिलाले अर्की महिलालाई गर्ने विभेद । 

सुदूरपश्चिमको कैलाली घर भएकी रन्जिता बस्नेत भक्तपुरको बालकोट बस्छिन् । उनलाई घरभन्दा बाहिर वा टाढा बसेर पढ्नका लागि परिवारबाट अनुमति थिएन । ठूलो संघर्ष गरेर उनी यहाँसम्म आइपुगेकी हुन् । उनीभन्दा दुई वर्ष सानो भाइलाई भने घरभन्दा टाढा गएर पढ्न र बस्न मन पटक्कै थिएन । तर, बाबाआमालाई उनको भाइले काठमाडौँ गएर राम्रो स्कूलमा पढोस् भन्ने लाग्थ्यो । त्यसका लागि बाबाआमाले दबाब पनि दिन्थे । यतिमै उनी सोच मग्न हुन्छिन्, 'म पनि भाइजस्तै भएको भएँ आजभन्दा २ वर्ष अगाडि नै काठमाडौँ आएर पढ्थेँ । र, अहिलेको भन्दा पनि अझै राम्रो गर्थेँ होला ।'

वर्षभरी अपहेलना र विभेद गर्दै आएकाहरू आज एक दिन नारी दिवस मनाएर नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ भन्ने सोचिरहेका हुन्छन् ।

 

'अहिले पनि हामीजस्ता धेरै छोरीहरूले आफ्नो इच्क्षा र सपना मारेर बस्नुपरेको अवस्था छ,' उनले भनिन् । यी यस्ता थुप्रै उदाहरणहरू हामी सबैको घर-घरमा देख्न पाइन्छ । कहिले छोरी भएर त कहिले बुहारी भएकै कारण अझै पनि महिलाहरूले समाजमा दोस्रो दर्जाको व्यवहार पाइरहेकै छन् ।

हाम्रो समाजले एक रथका दुई पांग्रा र एक सिक्काका दुई पाटाका रूपमा नारी पुरुष समान भनेर आवाज उठाए पनि व्यवहारमा भने उक्त दर्जा र सम्मान भने दिएको छैन । समाज आधुनिकतातर्फ लाग्दैछ भनेर मख्ख परेर बसेकाहरूलाई के थाहा मानिसको सोचमा भन्दा पनि उनीहरूको लवाइखुवाइमा मात्र आधुनिकता आएको हो । अझै पनि धेरैजसो घर आँगनमा एउटी महिलाले विभिन्न रूपमा विभेद र अपहेलनाको सिकार बन्नु परिरहेको छ । 

नारीले गर्न खोजेका कामहरूमा घरपरिवार र समाजले अवरोध खडा गरिदिन्छन् । त्यसका बाबजुद पनि संघर्षको मैदानमा गइहाले पनि यात्रा सहज हुँदैन । अझ नेपालको सन्दर्भमा भन्ने हो भने औपचारिकताका लागि मात्रै विभिन्न सरकारी तथा गैरसरकारी महिलावादी संघसंगठनले निश्चित बजेटमा १/२ घण्टे कार्यक्रम गरेर मात्रै महिला दिवसले सार्थकता पाउँदैन ।

आजको यो वैज्ञानिक युगमा समेत नेपाली महिलाहरू पितृसत्तात्मक सोच, अशिक्षा, गरिबी, विभेदपूर्ण कानुनका कारण जबरजस्ती करणी, यौन दुर्व्यवहार, एसिड आक्रमण, आगो लगाउने, घरेलु हिंसा, सामाजिक अपहेलना, दाइजो प्रथाजस्ता अमानवीय व्यवहार सहन बाध्य बनेका छन् ।

महिला हिंसा अन्त्य गरी भय रहित वातावरणमा महिलाले जीवन जिउन सक्ने अवस्थाको सृजना गर्नु यस दिवसको लक्ष्य हो । राजनीतिक तवरबाट सुरु भएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तीकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् ।

नारीलाई लक्षित गरी वर्षको एक दिन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । ३ सय ६५ दिनमध्ये एक दिनमात्रै नारीका लागि विशेष दिन हो भनेर सोच्नु पर्ने बेला भएको छ । सृष्टि निरन्तरता लागि दुवैको बराबर हात हुने भए पनि यहाँ नारी र पुरुषमा समान व्यवहार गरिँदैन । वर्षभरी अपहेलना र विभेद गर्दै आएकाहरू आज एक दिन नारी दिवस मनाएर नारीको हक, अधिकार र स्वतन्त्रता सुरक्षित हुन्छ भन्ने सोचिरहेका हुन्छन् ।

समान कामको समान ज्याला र कामको समय ८ घन्टा हुनुपर्ने मुख्य माग राखेर अमेरिकाको न्युयोर्क सहरमा उठेको श्रमिक महिलाहरूको आन्दोलनले संस्थागत स्वरूप पायो । सन् १९०८ मार्च ८ मा न्यूयोर्क सहरको गार्मेन्ट कारखानामा काम गर्ने महिलाहरू कारखानाका मालिकविरुद्ध सडकमा उत्रेका थिए । न्यूयोर्कबाट उठेको श्रमिक महिलाहरूको आन्दोलन अमेरिकाको सिकागो सहर हुँदै छोटो समयमा युरोपसम्म फैलियो । दुई वर्षपछि सन् १९१० मा कोपेनहेगनमा सम्पन्न अन्तर्राष्ट्रियस्तरको श्रमिक महिलाहरूको सम्मेलनले महिलाहरूले आन्दोलन उठाएको दिन ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने निर्णय गरियो । सोही सम्मेलनले महिलाहरूलाई मताधिकारलगायत अन्य महिला अधिकारसम्बन्धी प्रस्ताव पनि पारित गरी प्रत्येक वर्षको ८ मार्चलाई श्रमिक महिला दिवसका रूपमा संसारभर मनाउने गरिएको हो ।

त्यसैले आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका दिन सबैले एउटा दृढ संकल्प गर्न जरुरी छ । राजनीति, सामाजिक क्षेत्रलगायत सबै क्षेत्रका महिला, पुरुषहरूले श्रीमती, छोरी र बुहारी भनेर भेदभाव नगर्ने प्रण गरौँ । जो श्रीमान् छन्, श्रीमतीको नाममा सम्पत्ति राख्ने अठोट गरौँ, जो सासू-ससुरा छन्, बुहारीको नाममा सम्पत्ति राख्ने अठोट गरौँ । जो आमा–बुवा छन्, तीन/चार सन्तान भएर पनि छोरा चाहिन्छ भन्दै परिवारलाई दु:खको सागरमा नधकेलौँ । यति अठोट गरियो भने ‘महिलामाथि लगानी’ भन्ने शब्दले सार्थकता पाउला । साथै महिला पुरुष एक सिक्काको दुई पाटा भने झै एकअर्कामा समझदारी र सद्भावका साथ असमानताको पर्खाललाई भत्काउनतर्फ लाग्नु पनि आजको प्रमुख आवश्यक हो ।


Author

थप समाचार
x