समाज

जसले खाजा घरमा नाबालिकालाई मदिरा सेवन गराउँदै, यौनधन्दामा लगाउँथे

इकागज |
चैत १, २०८० बिहीबार ७:४६ बजे

काठमाडौँ- होटल तथा खाजा घर सञ्चालन गरी नाबालिकालाई यौनधन्दामा लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुर जिल्ला घर भई हाल काठमाडौँ बस्ने ३८ वर्षीय हिरन राई छन् ।


उनलाई बुधबार मानव बेचबिखन तथा ओसारपसार ब्युरोले पक्राउ गरेको हो ।

ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार गोकर्णेश्वर नगरपालिका-५ शिवचोकमा उनले कालिञ्चोक स्टाफ होटल तथा खाजा घर सञ्चालन गरिरहेका थिए ।

फुयाँलका अनुसार उक्त होटलबाट दुई जना नाबालिकालाई उद्धार गरिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा राईले आर्थिक अवस्था कमजोर भएका नाबालिकालाई होटलमा ल्याउने गरेको खुलेको छ ।

ग्रामीण भेगका ती नाबालिका कम पढेलेखेका हुन्थे । उनले खाजा घरमा ल्याएर सरसफाइको काम लगाइदिने, आकर्षक तलब-सुविधा दिन्छु भन्ने गरेका थिए ।

‘सुरूमा सफाइको काममै लगाउँथे, पछि फकाएर खाजा घरमा आएका ग्राहकसँग मादक पदार्थ सेवन गराउँथे,’ ब्युरो प्रवक्ता फुयाँल भन्छन्, ‘ग्राहकहरूसँगै खाने-बस्ने र बढी बिल उठाउने काममा लगाउने गरेको खुलेको छ ।’

राईले खाजा घरमा आउने ग्राहकलाई बालिकाहरू रोज्न लगाउँथे । रोजेकी बालिकालाई शारीरिक सम्पर्क राख्न दबाब दिन्थे ।

‘बालिकाहरूलाई खाजा घरमा कोठा निर्माण गरी सोही स्थानमा र ग्राहकको माग तथा परिस्थितिअनुसार पहिल्यै रकम लिई अन्यत्रसमेत बेश्यावृत्तिका लागि पठाई आर्थिक लाभ खाजा घर सञ्चालकले लिने गरेको खुल्न आएको छ,’ फुयाँलले भने ।

यस घटनामा संलग्न अन्य प्रतिवादीहरूको खोजतलास तथा थप अनुसन्धान भइरहेको उनले बताए । राईलाई अदालतबाट हिरासतमा राख्न अनुमति लिई अनुसन्धान थालिएको छ ।


Author

थप समाचार
x