समाज

धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरणमा दोस्रो चरणको अनुसन्धान सुरु

इकागज |
चैत २, २०८० शुक्रबार १३:५९ बजे

फाइल तस्बिर

काठमाडौँ- धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह प्रकरण (बैंकिङ कसुर)मा मुछिएका १० बैंकरमाथि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) दोस्रो चरणको अनुसन्धान सुरु गरेको छ ।

सिआइबीका प्रवक्ता, प्रहरी उपरीक्षक होविन्द्र बोगटीले नेपाल राष्ट्र बैंककै विज्ञ टोलीबाट सो प्रकरणमा मुछिएका १० बैंकरको सम्बन्धमा पहिलो चरणको अनुसन्धान सकेर दोस्रो चरणको अनुसन्धान थालिएको जानकारी दिए ।


तत्कालिन सेञ्चुरी कमर्सियल बैंकले मिलेमतोमा धितोको मूल्याङ्कनभन्दा अधिक कर्जा प्रवाह गरेको आरोपमा परेको उजुरीमाथि अहिले सिआइबीले अनुसन्धान गरिरहेको छ । सो प्रकरणमा पक्राउ परेका प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहितका १० बैंकर हाजिरी जमानीमा छुटिसकेका छन् ।

'व्यवहारिक रुपमा कानुनले दिएको अधिकार प्रयोग गरेर अहिले उहाँहरुलाई दैनिक हाजिरी जमानीमा छाडेका छौँ, आजदेखि विहान १० बजे आउनुहुन्छ र साँझ ५ बजे जानुहुन्छ, तर अनुसन्धान टुङ्गिएको पनि होइन ।  अनुसन्धान लामो हुने भएकाले थुना बाहिर राखेर अनुसन्धान गर्ने अधिकार अनुसन्धान अधिकारीलाई छ, सोहीअनुसार गरिएको हो' प्रहरी उपरीक्षक बोगटीले भने ।

गत फागुन १५ गते पक्राउ गरेका बैंकरलाई ब्यूरोले १७ दिन हिरासतमा राखेर प्रारम्भिक अनुसन्धान गरेको थियो । गत फागुन २९ गते थप पाँच दिन हिरासतमा राख्न ब्यूरोले अदालतबाट अनुमति पाएको थियो । रासस


Author

थप समाचार
x