समाज

करेन्ट लागेर सोलुखुम्बु र झापामा चार जनाको मृत्यु

इकागज |
जेठ २८, २०७८ शुक्रबार १६:३३ बजे

विराटनगर : करेन्ट लागेर झापा र सोलुखुम्बुमा चार जनाको मृत्यु भएको छ । झापामा पानी तान्‍न मोटर चलाउने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको हो भने सोलुखुम्बुमा क्रेनले विद्युतको तार छुँदा करेन्ट लागेर दुई जनाको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

सोलुखुम्बुको पत्तालेको मुल सडकमा क्रेनले विद्युत तार छुँदा करेन्ट लागेर क्रेनमा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । सोलुदुधकुन्ड नगरपालिका-८ पत्तालेको सेतो माने नजिकै लोबेड गाडीमा सवार क्रेनले ३३ केभिए प्रसारण लाइनको तार छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान भएको उक्त दुर्घटनामा गाडी चालक बागलुङका २६ वर्षीय भुमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका २४ वर्षीय राम परियारको मृत्यु भएको हो ।


ग१ ज५१७३ नम्बरको उक्त गाडीमा सवार अन्य दुई जना घाइते भएकोमा उनीहरुको उपचार भइहरको जिल्ला प्रहरी कार्यालय सोलु प्रहरीले जनाएको छ । यसै गरी झापाको अर्जुनधारा नगरपालिका-३ बस्‍ने ८२ वर्षीया गलमाया खड्का बिहीबार साँझ आफ्नै घरको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी थिइन । उनको उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसै गरी कमल गाउँपालिका-७ लालधोन्द्रास्थित महेन्द्र धिमालको खेतमा पानी तान्‍न जडान गरिएको मोटर चलाउन गएका महेन्द्रका भान्जाको करेन्ट लागेर मृत्यु भएको छ । मोरङको बेलबारी नगरपालिका-४ घर भएका १४ वर्षीय सन्देश धिमालको महेन्द्रको खेतमा जडान गरिएको मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको हो प्रहरीले जनाएको छ । 


Author

थप समाचार
x