समाज

‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सम्पन्न, सात बुँदे प्रतिबद्धतापत्र जारी

इकागज |
चैत २, २०८० शुक्रबार २१:५२ बजे

काठमाडौँ- राष्ट्रिय सहकारी महासंघको आयोजनामा काठमाडौँमा जारी ‘प्रथम सहकारी डिजिटल कन्क्लेभ’ सात बुँदे प्रतिबद्धतापत्र जारी गर्दै सम्पन्न भएको छ । ‘डिजिटाइजिङ्ग को-अपरेटिभ : अटेनिङ्ग भिजन २०३०’ थिमका साथ बिहीबारबाट सुरु भएको कन्क्लेभ आज (शुक्रबार) सकिएको हो ।

सहकारी डिजिटल कन्क्लेभमा उपस्थित २ सयभन्दा बढी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरूले सात बुँदे साझा प्रतिबद्धतापत्र जारी गरेका हुन् ।


सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न सामूहिक रूपमा सात बुँदे प्रतिबद्धता जाहेर गरेको महासंघका उपाध्यक्ष डिबी बस्नेतले बताए ।

सहकारी कार्य स्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाइजेसनमा रुपान्तरण गर्न कार्यक्रममा सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । त्यस्तै सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने सहकारीकर्मीहरू प्रतिबद्धता जनाएका छन् ।

सहकारीका सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नवीनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकूलन बनाउन साझा प्रतिबद्धता जनाएका छन् ।

सहकारी सहकारी डिजिटल कन्क्लेभको समापन समारोहमा बोल्दै महासंघका अध्यक्ष ओमदेवी मल्लले कार्यक्रमले सहकारीहरूलाई डिजिटाइज गर्न उत्साह थपेको बताइन् । कोभिडपछि सहकारीहरू बिस्तारै डिजिटाइजतर्फ अघि बढेको स्मरण गर्दै अध्यक्ष मल्लले कन्क्लेभले थप उत्साह थपेको उनले प्रष्ट पारिन् । प्रविधिको प्रयोगसँगै सन् २०३० सम्म सहकारीको संख्या १० हजारमा झार्ने अभियानको योजनालाई सफल बनाउन मद्दत पुग्ने उनले बताइन् । 


यस्तो छ, प्रतिबद्धतापत्र

प्रथम सहकारी डिजिटल कन्क्लेभ, काठमाडौँ
प्रतिबद्धतापत्र - २०८०

राष्ट्रिय सहकारी महासंघ लि. नेपालको आयोजनामा काठमाडौँमा मिति २०८० चैत १ र २ गते ‘डिजिटाइजिङ्ग को-अपरेटिभः अटेनिङ्ग भिजन २०३०’ थिमका साथ सम्पन्न प्रथम सहकारी डिजिटल कन्क्लेभमा उपस्थित हामी सहकारीकर्मी, सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवालाहरू यो प्रतिबद्धतापत्र-२०८० जारी गर्दछौं । सहकारीका मूल्य, मान्यता र सिद्धान्तको पूर्ण पालनाका साथ डिजिटलाइजेसनमार्फत नेपालको सामाजिक-आर्थिक विकासमा सकारात्मक परिवर्तन गर्दै डिजिटल नेपालको भिजनलाई साकार पार्न हामी सामूहिक रूपमा यो प्रतिबद्धता जारी गर्दछौं ।

१) डिजिटलाइजेसन प्रति प्रतिबद्धः दक्षता, पारदर्शिता र समावेशीतालाई आत्मसाथ गर्दै सहकारी कार्यस्थललाई २०३० सम्ममा पूर्ण गुणस्तरीय डिजिटलाईजेशनमा रुपान्तरण गर्न हामी प्रतिबद्ध छौं ।
२) नीति वकालतः सहकारी डिजिटलाईजेशन र नविनताका लागि अनुकुल वातावरण निर्माण गर्न हामी राष्ट्रिय स्तरमा सूचना, संचार र प्रविधि (आईसीटी) नीतिहरूको विकास र कार्यान्वयनको लागि वकालत गर्न प्रतिबद्ध छौं ।
३) सीप आदानप्रदान र क्षमता विकासः सदस्य र नेतृत्वलाई डिजिटल साक्षरतामार्फत आवश्यक सीप र स्रोतहरूबाट सुसज्जित गरी समुदायहरूमा सहकारी डिजिटलाइजेशनसँग सम्बन्धित ज्ञान र उत्कृष्ट अभ्यासहरू आदानप्रदान गर्न प्रतिबद्ध छौं ।
४) साइबर सुरक्षाः सहकारी संरचनाहरू भित्र बलियो साइबर सुरक्षा उपायहरू स्थापना गर्न, संवेदनशील डाटाको सुरक्षा गर्न र सदस्य तथा सरोकारवालाको विश्वास सुनिश्चित हुने वातावरण निर्माणलाई पहिलो प्राथमिकतामा राख्न प्रतिबद्ध छौं ।
५) सहयोग र साझेदारीः सहकारीमा डिजिटल रुपान्तरणको गतिलाई तीव्र बनाउन सरकारी निकाय, प्रविधि प्रदायक र सरोकारवाला निकायहरूबीचसँग सहयोगात्मक साझेदारीलाई अभिबृद्धि गरी पारदर्शिता र जवाफदेहितामार्फत स्वनियमन र सुशासनलाई मजबुद बनाउन प्रतिबद्ध छौं ।
६) सशक्तिकरण र निरन्तर सुधार: सदस्य तथा सरोकारवालाहरूलाई डिजिटल रूपान्तरण प्रक्रियामा सक्रिय रूपमा सहभागी हुन, अध्ययन अनुसन्धानमार्फत नविनता प्रदान गर्न, सहकार्य र साझा स्वामित्व र एकरुपता निर्माणको संस्कृतिलाई बढावा दिँदै डिजिटलाइजेसन रणनीतिको निरन्तर कार्यान्वयन, मूल्यांकन र अनुकूलन बनाउन प्रतिबद्ध छौं ।
७) समावेशी र दिगो विकासः अभियानको इकोसिस्टमभित्र समावेशीता, लैङ्गिक समानता, युवा उत्प्रेरणा र वातावरणीय दिगोपनका विषयलाई प्राथमिकतामा राखी सहकारी डिजिटलाइजेसनमार्फत प्राप्त हुने लाभलाई समानुपातिक रूपमा सदस्यहरूमा वितरण गर्न प्रतिबद्ध छौं ।
२०८० चैत्र २ गते, काठमाडौँ ।

 


Author

थप समाचार
x