समाज

दैनिक हजार जना भिडिरहेका कोरिया सपना

सुभद्रा धिताल |
चैत ३, २०८० शनिबार ९:५७ बजे

काठमाडौँ- करिब तीन साताअघि भूपू पाण्डेले ल्याएको 'पीरैपीर' गीतको 'जिन्दगी चल्न त चल्या छ पीरैपीरमा छ' भन्ने एउटा वाक्य अहिले बच्चादेखि युवासम्म, युवादेखि बुढाबुढीसम्म चर्चामा छ । नेपालको वर्तमान अवस्थालाई ठ्याक्कै गीतमार्फत उतारेका पाण्डेले सुरुमै गाएका छन् 'गाह्रो भयो हजुर खुलेर हाँस्नलाई, बेरोजगारी हजुर भएर बाँच्नलाई ।'

हो उनले गीतमा गाए जस्तै छ नेपालको बेरोजगारी अवस्था । नेपालमा रोजगार पाउनलाई निकै कठिन छ, बल्लतल्ल पाए पनि पाण्डेकै गीत जस्तै खुलेर जिउन गाह्रो छ । कम तलब काम बढी अनि समयमै तलब नआउने समस्याले झनै तनाव उत्पन्न गराउँछ ।


न जागिर पाइन्छ, पाए पनि समयमा तलब पाउन गाह्रो भएपछि के गर्ने त ? अधिकांशको सोच हुन्छ विदेश जाने । विदेश जान पनि कहाँ सजिलो छ र । उही पाण्डेको गीत याद दिलाउने 'विदेश जाउँ त हजुर लाग्दैन भिसा, उमेर पनि हजुर पुग्दैछ दुई बिस' भनेजस्तै छ ।

काम गरेपछि राम्रो तलब पाउन कसलाई चैँ मन हुँदैन र ? हो पछिल्लो समय राम्रो कमाइ हुने सपनाको देश बनेको छ नेपालीहरूलाई दक्षिण कोरिया ।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखामा यस पटक उत्पादनतर्फको भाषा परीक्षा भइरहेको छ । ललितपुरको भैँसेपाटीमा रहेको परीक्षा केन्द्रमा यतिबेला इपिएस परीक्षा दिने युवाहरूको लाइन देख्न सकिन्छ । दैनिक पाँच सिफ्ट गरेर एक हजार जनाले इपिएस परीक्षा दिइरहेका छन् ।

परीक्षार्थीहरूले आफ्नो सिफ्टअनुसार पालो कुरेर परीक्षा दिनुपर्ने हुन्छ । सोही क्रममा आफ्नो पालो कुरेर घाममा बसिरहेकी थिइन् अन्जना ओझा । उनी झापाबाट इपिएस परीक्षा दिन आएकी हुन् ।

आफ्नी दुई वर्षकी छोरी झापामै छाडेर यहाँ इपिएस भाषा परीक्षा दिन आएको उनले बताइन् । 'घरमा मेरो दुई वर्षको छोरी छ । उसलाई बाबाआमासँग छाडेर आएको छु,' उनले भनिन्, 'के गर्नु सानै छोरी भएकाले यहाँ ल्याउन सकिनँ । त्यसैले उतै छाडेर आएँ ।'

नेपालमा एक त काम पाइँदैन यदि पाइहाल्यो भने पनि पारिश्रमिक कम दिने र समयमा पनि नदिने समस्या रहेको छ । आजभोलि विभिन्न सञ्चार माध्यममा पनि कर्मचारीले समयमा पारिश्रमिक नपाएको गुनासो देख्न र सुन्न पाइन्छ । अन्जना पनि यस्तै समस्याबाट ग्रसित भएको अनुभव सुनाउँछिन् । 'मैले झापामा हुँदै एउटा फाइनान्समा काम गर्थें । एक त तलब कम थियो झन् त्यसमा पनि समयमै नआउने थियो,' उनले भनिन्, 'साह्रै दिक्क लाग्यो । जता हेरे पनि पैसामै कुरा नमिल्ने घर खर्च पनि चल्न नसक्ने अवस्था पनि आयो ।'

उनी अगाडि भन्छिन्, 'ठ्याक्कै आजभन्दा एक वर्ष अगाडि एक जना साथीले भनेपछि कोरियामा काम पनि पाइने पैसा पनि राम्रो कमाइ हुने थाहा पाएँ । र, यसै बस्न हुन्न भन्ने लागेर कोरियन भाषा पढेँ ।' नेपालमा कमाइ हुँदैन अनि कसरी जीविका चलाउन सकिन्छ ? उनले प्रश्न गरिन् ।

अन्जनाका श्रीमान् वैदेशिक रोजगारीका लागि नेपाल बाहिर नै छन् । दुई/चार पैसा आफूले पनि कमाएपछि घरधन्दा सहज हुने र श्रीमानलाई पनि सहयोग हुने मनस्थिति बनाएर आफूले पनि देश छाड्ने निष्कर्षमा पुगेको उनले बताइन् ।

त्यसोत आफ्नो पालो कुरेर बसेकी थिइन् कृष्टिना राई । १९ वर्षकी उनी आफ्नो र परिवारको भविष्यको चिन्ता गर्दै इपिएसको परीक्षा दिने लाइनमा थिइन् । खोटाङ घर भएकी उनी परीक्षा दिनका लागि काठमाडौँ आएकी हुन् । उमेर सानै भए पनि परिवारप्रतिको जिम्मेवारीका कारण आफ्नो देश छाड्ने तयारी गरेको उनी बताउँछिन् । कृष्टिनाको पनि दुखेसो एउटै छ,  हालको अवस्थामा नेपालका युवापिढीले सोच्ने एक मात्र कुरा हो पलायन ।

स्वदेशमै बसेर राम्रो र सुखी जीवन बिताउन असम्भव देखेपछि उनी पनि पलायनतिर लागेकी छन् ।

अहिले नेपालका युवाहरूमा उच्च शिक्षा लिन चाहनेभन्दा पनि वैदेशिक रोजगारीका लागि अवसर कुरेर बस्ने धेरै छन् । हाम्रा स्कुल, कलेजहरू पढाइ फि असाध्यै महँगो हुँदै गएको छ । भोलिका दिनहरूमा नेपालमा निम्न वर्गले पढ्न पाउलान् भनेर ढुक्क हुने अवस्था छैन । कृष्टिनाको पनि भोगाइ उही छ, 'नेपालमा पढाइ धेरै महँगो छ, कसरी फि तिर्नु । त्यसैले अब कोरिया जान्छु उतै कमाउँछु अनि उतै पढ्छु ।'

इपिएस शाखा र कोरिया मानव संशाधन बोर्ड (एचआरडी) ले नेपालबाट ८० हजारको हाराहारीमा आवेदन पर्ने अनुमानसहित भाषा परीक्षाको व्यवस्थापनका लागि पूर्वाधार तयार गरेको तर अनुमान गरेभन्दा दोब्बर बढीको आवेदन परेपछि व्यवस्थापनमा समस्या भएको जनाइएको छ । इपिएस शाखाका अनुसार कोरिया एचआरडीले सन् २०२४ का लागि नेपालबाट उत्पादनतर्फका १५ हजार ८४८ जनाका लागि आवेदन माग गरेकोमा एक लाख ६४ हजारभन्दा बढीले आवेदन दिएका छन् ।

शाखाका अनुसार यस पटक अपेक्षाभन्दा दोब्बर परीक्षार्थीको आवेदन परेकाले प्रत्येक दिन पाँच सिफ्टसम्म परीक्षा सञ्चालन गर्न आवश्यक पूर्वाधारका लागि तयार भएको छ ।

शाखाले दैनिक चार चरणमा आठ सय जनाले भाषा परीक्षा दिन सक्ने गरी पूर्वाधार तयार गर्दै आएकोमा परीक्षार्थी धेरै भएकाले एक सिफ्ट थपेर पाँच वटा पुर्‍याएको छ । यसअघि भैँसेपाटीस्थित परीक्षा केन्द्रमा युबीटी टेस्ट ट्याब जडान गरेर भाषा परीक्षा लिइँदै आएको थियो । हाल भने दैनिक एक हजारले भाषा परीक्षा दिइरहेका छन् ।

इपिएस शाखाका अनुसार पहिलो चरणमा ४७ हजार जनालाई सहभागी गराएको छ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजारले परीक्षा दिने गरी एचआरडी कोरियाले कार्यतालिकामा उल्लेख छ । पहिलो चरणको परीक्षा सकिएपछि दोस्रो र त्यसपछि तेस्रो चरणको परीक्षा हुने शाखाले जनाएको छ ।

उच्च मनोबल तथा लगनशील र परिश्रमी व्यक्तिहरूका लागि कोरिया उपयुक्त देश भएको मानिन्छ । नेपालीहरू कोरियाका विभिन्न प्रान्तमा छरिएर रहेका छन् । इपिएस कामदारहरू खास गरी उत्पादनमूलक र कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन् ।

नेपालको अर्थतन्त्रमा यसरी विदेशमा काम गर्न गएका नेपालीहरूले पठाएको विप्रेषणको योगदान ठूलो छ । देशमा प्रतिवर्ष ५ लाखभन्दा बढी युवाहरू श्रम बजारमा प्रवेश गर्छन् । तर, तिनलाई उपलब्ध हुन सक्ने गरी रोजगारीको सिर्जना हुन सकेको छैन ।

सरकारी र निजी क्षेत्र गरी एक/डेढ लाख युवाले रोजगारी पाए पनि अन्यका लागि त्यो अवसर उपलब्ध हुँदैन । फलतः उनीहरू वैदेशिक रोजगारीमा जान बाध्य बनेका हुन् । नेपालले वैदेशिक रोजगारीको विकल्प खोज्नुपर्ने अवस्था आएको छ ।

साथै युवा कामदार विदेशमा जाँदा नेपालमै कामदार महँगो हुन थालेको छ । यसले गर्दा नेपाली उद्योगहरूले कामदार पाउन कठिन हुन थालेको मात्र छैन, श्रमको ज्याला पनि बढेको छ । यसबाट ती उद्योगको उत्पादन लागत महँगो पर्न गई प्रतिस्पर्धी क्षमता घटेको पाइन्छ ।

विदेशमा खर्च गरिएको श्रमले देशभित्र औद्योगिक, कृषि र अन्य उत्पादन वृद्धिमा सहयोग पुर्‍याउँदैन । त्यसैले युवा श्रम शक्तिलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन सरकार निकै गम्भीर र योजनाबद्ध ढंगले लाग्नु आवश्यक छ ।

रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाका लागि पहिलो उडान सन् २००८ मा ५५ कामदारसहित भएको थियो । इपिएसको तथ्यांकअनुसार हालसम्म १ लाख ५ हजारभन्दा बढी कामदार इपिएसमार्फत कोरिया प्रवेश गरेका छन् ।

इपिएस अन्तर्गतका कामदारमध्ये करिब १० हजार कृषि तथा पशुपालन क्षेत्रमा कार्यरत छन् । दक्षिण कोरियामा हाल विभिन्न भिसामा धेरै संख्यामा नेपालीहरू रहेका छन् । इपिएस अन्तर्गत कोरिया जान बर्सेनि हजारौं आकांक्षीले दरखास्त भर्ने गर्छन् । जसमध्ये बर्सेनि ७/८ हजारले रोजगारीको अवसर पाउने गरेका छन् ।

विदेशको काम सोचे जस्तो सजिलो पक्कै पनि छैन । सम्पूर्ण परिवार त्यागेर जानु पर्दा मन गह्रुँगो त हुन्छ नै झन् बिरामी पर्दा हेरविचार गर्ने पनि कोही हुँदैन । तर, काम नगरे खान पनि त पुग्दैन ।


Author

थप समाचार
x