नक्कली नोटसहित तीन जना पक्राउ
काठमाडौँ- ललितपुर प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो । नक्कली नोटबाट कारोबारको सूचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता देखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
त्यस्तै थप अनुसन्धान गर्दा मोबाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोटसहित पक्राउ गरिएको उनले बताए । पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए ।
उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थान लगायत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसुरमा म्याद थप भइ थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया