समाज

पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु

इकागज |
चैत ५, २०८० सोमबार २०:८ बजे

फाइल तस्बिर

वीरगन्ज- पर्साकाे ठाेरी गाउँपालिका-४ मालीबस्तीमा बाघकाे आक्रमणबाट एक महिलाकाे मृत्यु भएकाे छ । बाघकाे आक्रमणबाट ठाेरी गाउँपालिका वडा नम्बर ४ मालीबस्तीकी ४० वर्षीया कलावती सुबेदीकाे मृत्यु भएको ईलाका प्रहरी कार्यालय ठाेरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ठाेरीका प्रहरी निरीक्षक सन्ताेष राईका अनुसार मालबस्ती गाउँ नजिकैको जंगल छेउमा घाँस काट्न गएका बेला साेमबार साँझ ५ बजेतिर जंगलबाट आएकाे बाघले आक्रमण गर्दा सुबेदीकाे मृत्यु भएकाे हाे ।


आक्रमण गर्ने बाघ भने जंगलतिर भागेकाे स्थानीयले बताएका छन् । मृतक महिलाकाे शव पाेष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाउने तयारी भइरहेकाे प्रहरी निरीक्षक राईले जानकारी दिए ।

एक महिनाभित्रै पर्सामा बाघकाे आक्रमणबाट ज्यान गुमाउनेकाे संख्या दुई पुगेकाे छ । यसअघि पटेर्वा सुगाैली गाउँपालिकामा बाघकाे आक्रमणबाट एक पुरुषकाे मृत्यु भएकाे थियाे ।

पर्साकाे ठाेरी, पटेर्वासुगाैली र सखुवा प्रसाैनी गाउँपालिकाका विभिन्न गाउँमा विगत एक महिनादेखि आतंक मच्चाउँदै आएकाे छ । आतंक मच्चाउने दुई बाघमध्ये भाले पाटे बाघलाई गत बिहीबार मात्रै तीन वटा हात्तीकाे मदतमा पर्सा र चितवन राष्ट्रिय निकुञ्जको संयुक्त प्राविधिक टाेलीले सखुवा प्रसाैनी गाउँपालिका स्थित उँखुबारीबाट डाट हानेर नियन्त्रणमा लिएको थियाे । पाेथी बाघलाई नियन्त्रणमा लिन भने उक्त टाेली असफल भएकाे थियाे ।


Author

थप समाचार
x