समाज

सहकारी पीडितको राज्य व्यवस्था समितिमा निवेदन : किन ठगीमा संलग्न सबै पक्राउ परेनन् ?

इकागज |
चैत ८, २०८० बिहीबार १५:२७ बजे

फाइल तस्बिर

काठमाडौँ- कास्कीको पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडित निक्षेपकर्ताले आफूहरूको रकम फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई कानुनी कारबाहीको माग गर्दै संसदीय समितिमा निवेदन दिएका छन् । 

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा सूर्यदर्शन बचत पीडित संघर्ष समितिको तर्फबाट संयोजक किरण श्रेष्ठले दिएको निवेदनमा आफूहरूको निक्षेप फिर्ता दिलाउन र ठगीमा संलग्न सबैलाई पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेका छन् । 


बिहीबार समिति सभापति रामहरि खतिवडालाई बुझाएको निवेदनमा जिम्मेवार निकाय मौन बसेको र ठगीमा संलग्नहरू सबै पक्राउ नपरेकाले आफूहरूलाई न्याय दिलाउन माग गरिएको छ । 

सूर्यदर्शन संस्थाले १८ हजार सात सय बचतकर्ताको एक अर्ब ४० करोड रुपैयाँ निक्षेप फिर्ता गर्नुपर्ने भए पनि दुई वर्षयता एक रुपैयाँ पनि फिर्ता पाउन नसकेको, न्यायका लागि कानुनी प्रक्रियामा गएको आठ महिना बितिसक्दा पनि ठगीमा संलग्न सबै पक्राउ नपरेको उल्लेख गरिएको निवेदनमा लेखिएको छ, 'गितेन्द्रबाबु (जिबी) राई राईलगायत एउटा सानो समूहले हजारौँ पोखरेली जनताको करोडौँ रुपैयाँ हिनामिना गरी सबै बचतकर्तालाई अलपत्र पारेर फरार रहेका छन् । सडकदेखि सदनसम्म ठगीको चर्चा भइरहँदा र डिफ्युजन नोटिस जारी हुँदा पनि सूर्यदर्शन सहकारीका अन्य १४ जना प्रतिवादी पक्राउ पर्न सकेका छैनन् ।'

निवेदनमा भनिएको छ, ‘यिनीहरूलाई हाम्रो कुन राज्यव्यवस्थाले संरक्षण दिइरहेको छ ? हामीलाई यसको जवाफ चाहियो साथै, यो प्रकरणमा संलग्न जोकोहीलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई बचतकर्ताको बचत फिर्ता हुने वातावरण मिलाइदिनुपर्यो ।'


Author

थप समाचार
x