समाज

विपद् व्यवस्थापन समितिको बैठक हवाई जहाजभित्र

इकागज |
चैत ८, २०८० बिहीबार २१:३९ बजे

धनकुटा- विपद् व्यवस्थापनका लागि ध्यानाकर्षण गराउन जिल्ला विपद् व्यवस्थापन समितिको बैठक हवाई जहाजभित्र बसेको छ । पाख्रिबास नगरपालिकाको वनभोज स्थलमा निर्मित हवाईजहाज बैठक सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी तथा समितिका संयोजक पुण्यविक्रम पौडेलले जानकारी दिए ।

उनले खडेरी र वर्षातको मौसमसँगै सुरु हुने विपद् र क्षतिप्रति सबैलाई सजग गर्न समितिको बैठक प्रमुख पर्यटकीय स्थल सनसारीमाई सिमसार क्षेत्रमा सम्पन्न भएको बताए । आम नागरिक र सरोकारवालालाई दैवी प्रकोप तथा विपद्का विषयमा जागरूक बनाएर यसको न्यूनीकरण गर्न नयाँ तरिकाले बैठक राखिएको उनको भनाइ छ । 


चालक बस्ने हवाई जहाजको अघिल्लो भागमा स्थानीय तहका प्रमुख र यात्रु बस्ने सिटमा विपद्सम्बन्धी काम गर्ने जिल्ला तथा अन्तर्गतका सात वटै स्थानीय तहका प्रतिनिधिको उपस्थिति रहेको थियो । बैठकमा भएको छलफलका सहभागीले सडक दुर्घटना, आगलागी, बाढीपहिरो, विद्युतीय सुरक्षा लगायतका विषयमा सरोकारवालालाई कार्ययोजना बनाएर कार्यान्वयनको लागि सुझाव दिएका थिए ।

विभिन्न विषयमा भएको छलफलपछि समितिले मनसुन प्रतिरक्षा योजना र विपद् प्रतिरक्षा योजना बनाउने जिम्मा नेपाल रेडक्रस सोसाइटी धनकुटालाई दिइएको छ । बैठकमा चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बू, साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जीतेन्द्र रुम्दाली राई र पाख्रिबास नगरपालिकाका प्रमुख ज्ञानबहादुर गुरुङले आफ्नो स्थानीय तहमा विपद न्यूनीकरणका लागि भइरहेको प्रगतिका बारेमा जानकारी दिएका थिए ।


Author

थप समाचार
x