दुई महिनामा १२ हजारले गरे शालग्राम सङ्ग्रहालयको अवलोकन
बागलुङ- शिरमा पञ्चकोट, नजिकै पवित्र कालीगण्डकी र बागलुङ कालिका मन्दिर, बागलुङ बजार केही पर शालग्राम सङ्ग्रहालय छ । धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको शालग्राम सङ्ग्रहालय पछिल्लो समय नेपालीसँगै भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
बागलुङ नगरपालिका-४ कुँडुले फेदीमा सुरुङ निर्माण गरेर सवा लाख शालग्राम सङ्ग्रहित गरिएको छ । त्यसले धार्मिक पर्यटकलाई आकर्षित गरिरहेको छ । शालग्रामलाई हिन्दू धर्मावलम्बीले भगवानका रूपमा पुज्ने गर्दछन् । सवा लाख शालग्रामसँगै रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरमा हिजोआज भक्तजनको भीड लाग्ने गर्छ । बागलुङ-म्याग्दी-मुस्ताङ सडक छेउमै रहेको शालग्राम सङ्ग्रहालयमा मुस्ताङको मुक्तिनाथ पुग्ने तीर्थालु पुग्न थालेका छन् ।
नजिकै रहेको पञ्चकोट र बागलुङ कालिकाले सङ्ग्रहालयलाई जोडेको छ । पञ्चकोट आउने अधिकांश पर्यटक सङ्ग्रहालयमा पुग्ने गर्छन् । सङ्ग्रहालयमा शालग्राम मात्रै राखिएको छैन । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ ।
त्यसले धेरैलाई आकर्षित गरिरहेको छ । शालग्राम सङ्ग्रहालय वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले धेरैलाई लोभ्याउने गरेको छ । बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा रहेको सङ्ग्रहालय गाडीमा पाँच मिनेट र पैदल यात्रामा १५ मिनेट लाग्छ । यहाँ पछिल्लो समय घुम्ने संस्कृतिको विकास भएसँगै पर्यटकको चहलपहल निकै बढेको छ ।
पछिल्लो दुई महिनामा करिब १२ हजार भारतीय तथा नेपाली पर्यटकले शालग्राम सङ्ग्रहालयको अवलोकन गरेको शालग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताए । उनले गत फागुन ९ देखि २३ गतेसम्म पञ्चकोटमा अनन्त श्री ब्रह्माण्डीय महायज्ञ लागेको र यस अवसरमा धेरै झक्तजनले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।
ऋषि प्रपन्नाचार्यका अनुसार यहाँ मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्न रु १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको समयमा धेरै पर्यटक आउने गरेको उनले बताए । पहिले मुक्तिनाथ जाने भारतीय पर्यटक निकै कम आउने गरेको सुनाउँदै अहिले दैनिक आउने गरेको ऋषि प्रपन्नाचार्य बताउँछन् ।
'हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ, धेरै संरचना बने तर प्रचारप्रसार कम भएको थियो, अहिले प्रचार पनि व्यापक भयो, सञ्चार माध्यममा जताततै प्रचार भएपछि घुम्न आउनेको सङ्ख्या निकै बढेको छ, गत आर्थिक वर्षमा एक लाख बढी पर्यटकले शालग्रामको अवलोकन गरेका थिए, माघ अन्तिम सातादेखि अहिलेसम्म दुई महिनाको अवधिमा १२ हजार पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका छन्,' ऋषि प्रपन्नाचार्यले भने, 'पहिले मुक्तिनाथ जाने पर्यटक कम आउँथे, अहिले यही बाटो भएर यात्रा गर्ने हुँदा धेरै आउन थालेका छन्, अझै धेरै पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, यहाँ अझै धेरै संरचना बन्दै छन्, केही वर्षपछि यो ठाउँमा दैनिक हजारौँ पर्यटकको भीड लाग्ने छ ।'
शालग्राम सङ्ग्रहालय वरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशाला सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शन गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन तथा पर्यटकले शालग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा पारेका हुन् ।
भारतको हरिद्वारबाट भ्रमणमा आएका रामविलास दासीले एकै ठाउँमा सवा लाख भगवानको दर्शन गर्न पाएको बताए । संसार घुम्दा भट्याउन नसकिने भगवान् शालग्राम सङ्ग्रहालयमा भेट्न सकिने उनको भनाइ छ । यसभन्दा पहिला बागलुङ कालिकामा आएर पूजाआज गरेको सुनाउँदै सङ्ग्रहालयमा आउन नपाएको सुनाए । बत्तीस जनाको टोली धार्मिक भ्रमणमा रहेको सुनाउँदै उनले पोखराको विन्ध्यवासिनी, म्याग्दीको गलेश्वर, मुक्तिना, बागलुङ कालिका, पञ्चकोट र शालग्रामको दर्शन गरेको बताए ।
उनले भने, 'यो ठाउँमा यसरी शालग्राम भगवान् हुनुहुन्छ भन्ने पहिला मलाई थाहा थिएन, पहिला पनि आएको थिए बागलुङ, अहिले दर्शन गर्ने मौका मिल्यो, यो ठाउँ साँच्चिकै पवित्र ठाउँ रहेछ, हाम्रो टिममा ३२ जना छ, सबैले अवलोकन गर्यौँ, यहाँको अवलोकनले मनमा शान्ति मिलेको छ, यहाँबाट मुक्तिनाथ पुग्न पनि धेरै समय लाग्दो रहेनछ ।' रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया