समाज

काठमाडौँ महानगर घरायसी सामग्रीलाई कवाडीमा समावेश गरी कर उठाउँदै

राजश्‍व प्रमुख भन्छनः ठाउँ सार्दा व्यवसायीक सामग्रीको राजश्‍व उठाउँछौ

अतिन आचार्य |
चैत १२, २०८० सोमबार १६:३९ बजे

काठमाडौँ- रामप्रसाद रिमालले काठमाडौँबाट घरायसी सामग्री रौतहट लगे । काठमाडौँ महानगरपालिका ३ लाजिम्पाटका उनले घरका लागि प्रयोग हुने सामग्री लगेका थिए ।

रामप्रसादले घरमा प्रयोग भइरहेका कुर्सी, दराज, सामान्य भाँडाकुँडा लगेका थिए । तर उनले भने काठमाडौँको घरबाट सामान लैजान ४० हजारमा ढुवानी गर्न सवारीसाधन ल्याए ।


घरबाट सामान हिँडाउन साथ काठमाडौँ महानगरले सडकमा कवाडी कर तिर्नुपरेको रामप्रसादले बताए । घरायसी सामग्रीको समेत कवाडी कर तिर्नुपरेको उनको भनाइ छ ।

‘कवाडीमा जानेजस्तो कुनै पनि सामान थिएन,’ उनले भने,’ कवाडीको सामान हो भन्दै महानगरले कवाडी करको लिस्ट देखाएर कर तिर्नुपर्‍यो । घरमा आवश्यक पर्ने सामग्री मात्र लगेका थिए ।‘

काठमाडौँ महानगरपालिकालाई कवाडी कर स्वरूप उनले १५ हजार बुझाएको उनले जानकारी दिए । रामप्रसादले कोटेश्‍वरको चेकिङमा कवाडी कर तिरेका थिए । घरको सामान लैजाँदा कवाडी कर भनेर कर तिर्नुपरेको उनको भनाइ छ ।

‘रौतहटसम्म पुर्‍याउँदा ढुवानी खर्च भन्दा कवाडी कर बढी तिर्नुपर्‍यो,’उनले भने,’ महानगरले कुन-कुन सामग्रीको ढुवानी लिने त्यसको लिस्ट गर्नुपर्छ । कवाडीमा लिस्ट गर्नुपरे घरका लागि प्रयोग गर्ने सामानलाई कर तिर्न नपरे हुन्थ्यो ।‘

काठमाडौँदेखि सामान लगेको गन्तव्यमा नपुगेसम्म कवाडी कर तिर्नुपरिरहेको उनले गुनासो गरे ।  उनले काठमाडौँदखि यात्रा सुरु गरेको ललितपुर महानगरमै कवाडी कर तिर्नुपरेको बताए ।

‘प्रत्येक स्थानीय तहमा कवाडी कर तिर्नुपरेको थियो । ढुवानी खर्च भन्दा बढी कर तिर्नुपरेको छ,’ उनले भने,’ स्थानीय तहले कवाडी कर एक ठाउँमा तिरेपछि अर्को ठाउँमा तिर्नु नपर्ने व्यवस्था लागू गर्नुपर्छ । व्यावसायीक हो वा होइन त्यसका आधारमा कवाडी करको वर्गीकरण गरे राम्रो हुन्थ्यो ।‘

त्यसैगरी, दिनेश कोइराला बानेश्‍वरको कोटेश्‍वरमा बस्छन् । उनले पनि रामप्रसादको जस्तै समस्या भोग्नुपरेको थियो । 'हेटौडामा घरको सामान पुर्‍याउनु थियो । घरको मात्र सामान थियो तर स्थानीय सरकारले कवाडीमा लिस्ट गरेकाले एकै पटकमा २५ हजार रुपैयाँ तिर्नुपर्‍यो,’ उनले भने ।

कवाडी संकलन करमा स्थानीय सरकारले मनपरी गरेको उनले आरोप लगाए । भन्छन्,’ घरायसी सामान अर्को ठाउँमा लैजाँदा कर लिन हुँदैन । स्थानीय सरकारले ऐन बनाएर लिए पनि सामान वर्गीकरण गरेर राजश्व उठाउनु पर्छ ।‘  

उनले हामीले स्थानीय व्यवसाय कर, आयकर, भ्याट तिर्दै आएका थियौं तर यो अनावश्यक कर भएको उनले आरोप लगाए । कवाडी व्यवसायीलाई कर लिनुपर्थ्यो । आफ्नै घरको सामान लैजाँदा पनि कर तिर्न बाध्य बनाएको उनको आरोप छ ।

‘स्थानीयलाई फेरि अर्को कर लाद्न खोजिएको छ,’ उनले अगाडि थपे,’ सरसफाइ तथा पुनः उपयोगी वस्तु लगेको भए हामीलाई राजश्व बुझाउन कर हुन्थ्यो । तर स्थानीय सरकारले बनाएको सूचीमा हाम्रो सामग्री पर्दैन थियो ।‘

महानगरका राजश्व विभागका प्रमुख ध्रुव काफ्लेले घरायसी सामान कवाडीको सूचीमा परेमा कवाडी कर तिर्नुपर्ने बताए । घरायसी सामग्री भनेर लगेपछि त्यो सामान कवाडीको सूचीमा परेमा महानगरलाई अनिवार्य राजश्व बुझाउनुपर्ने उनको भनाइ छ ।

कवाडी सामानको ठाउँ सारी गरेकालाई मात्र कवाडी कर उठाउने गरेको काफ्लेले बताए । ‘पुनः प्रयोग हुने तथा व्यवसायीक प्रयोजनका लागि प्रयोगमा ल्याइने कवाडीका सामानको मात्र कवाडी कर उठाइन्छ,’ उनले भने ।

उनका अनुसार गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले जडीबुटी, वनकर्स र कवाडी माल प्रचलित कानुन बमोजिम निषेधित बाहेक अन्य पुनः प्रयोगमा आउने सामग्रीलाई गाउँपालिका वा नगरपालिकाले कवाडी कर लगाउनेछ ।

एउटा स्थानीय तहले कवाडीमा कर लगाएपछि अर्को स्थानीय तहले लगाउन नपाउने भनेर कतै उल्लेख नभएको काफ्लेको भनाइ छ । काठमाडौँमा उपत्यकामा ललितपुर महानगर, काठमाडौँ महानगर र सुर्यविनायकले कवाडीमा कर लगाएको उनले जानकारी दिए । चन्द्रागिरिले यसअघि कवाडी कर उठाए पनि अहिले बन्द गरेको छ ।

कोठा वा घरको सामान व्यवसायीक उपयोग गरे बापत मात्र कवाडी कर लाग्ने काफ्लेले बताए । घर उपयोगका लागि सामग्री लगेमा कवाडी कर तिर्नु नपर्ने उनले प्रस्ट पारे । तर व्यवसायीक प्रयोजनका लागि सामग्री लगेमा कवाडी कर तिर्नुपर्ने उनले जानकारी दिए ।

‘काठमाडौँ महानगरपालिका देखि बाहिर कवाडीको सामान लानु परेमा महानगरको एक ठाउँमा कवाडी कर तिरे पुग्छ,’ उनले थपे’, तर, महानगरले कवाडीको लिस्टमा राखेको सामानको अनिवार्य कर तिर्नुपर्छ ।‘

गन्तव्य स्थानसम्म कवाडी नपुर्‍याएसम्म स्थानीय तहले लागू गरेको कवाडी कर तिर्नुपर्ने राजश्व प्रमुख काफ्लेले बताए । ‘जुन-जुन नगरपालिकाले कवाडी कर लागू गरेका हुन्छन् त्यस ठाउँमा कवाडी कर तिर्नुपर्छ,’ उनले सुनाए ।

कुन सामग्रीमा  कति कवाडी कर? 
क) खाली सिसी (वियर बोतल प्रतिगोटा- ५ पैसा
ख)  खाली सिसी (मदिरा र अन्य, ५०० एमएलभन्दा माथि प्रतिगोटा- २ पैसा
ग) खाली सिसी (मदिरा र अन्य ५०० एमएलभन्दा तल) प्रतिगोटा- २ पैसा
घ) प्लास्टिक बोतल, भाँडाकुँडा, पुराना जुत्ता, चप्पल, ग्यालन र जर्किन आदि प्रतिकेजी- १ रुपैयाँ
ङ) खाली बोरा 
- ५० केजीसम्म खाधान्न अट्ने प्लास्टिकका बोरा प्रतिगोटा- १ पैसा। 
- १०० केजीसम्म खाधान्न अट्ने जुटका बोरा प्रतिगोटा- १५ पैसा।
- १ सय केजीसम्म खाधान्न अट्ने जुटका बोरा प्रतिगोटा- ५० पैसा
च) तेलको टिन 
- १० लिटरभन्दा बढी अट्ने ठूलो टिन प्रतिगोटा- २ रुपैयाँ
- १० लिटरभन्दा कम अट्ने सानो प्रतिगोटा- १ रुपैयाँ। 

छ) झिण्डु (प्राकृतिक, कालो कपाउ र कृत्रिम उनका टुक्रा) प्रतिकिलो- ५ पैसा गार्मेन्टको कपडाको टुक्रा प्रति किलो- ५ पैसा 
झ) जलेको मोबिल प्रतिलिटर- १ रुपैयाँ। 
ञ) पुराना अखबार- १ पैसा

ट) अन्य कागज कार्टुन समेत- ५ पैसा

ठ) फलाम प्रति केजी -१ रुपैयाँ

ड)टायर/ट्युब प्रति केजी-२ रुपैयाँ

ढ) तामा पित्तल प्रति केजी १ रुपैयाँ

ण) स्टिल प्रति केजी १ रुपैयाँ

त) ब्याट्री प्रति केजी -२ रुपैयाँ


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x