समाज

विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने

इकागज |
चैत १२, २०८० सोमबार १७:७ बजे

काठमाडौँ- नेपाल संवतको ‘तिथिमिति डट कम’ सफ्टवेयर र ‘नेपाल संवत् मोबाइल एप’ सरकारलाई हस्तान्तरण गरिएको छ ।

राष्ट्रिय विभूति शङ्खधर साख्वा प्रतिष्ठान नेपालको संयोजन र स्पाइरालोजिक्स इन्टरनेसनलले तयार पारेको उक्त सफ्टवेयर र एप सरकारलाई हस्तान्तरण गरिएको हो । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठ र स्पाइरालोजिक्स इन्टरनेसनलका मुख्य इञ्जिनियर अरुण थापाले उक्त सफ्टवेयर र एप प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेका हुन् ।


सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपाल संवतको गणना अलिक जटिल ठानिएकोमा अब सहज हुने विश्वास व्यक्त गरे । नेपाल संवतलाई कार्यान्वयन गर्नका लागि यसलाई अझै व्यवस्थित गर्नुपर्ने भन्दै उनले एप कार्यान्वयनमा जाने बताए ।

सो सफ्टवेयर सञ्चालनमा आएसँगै विश्वको जुनसुकै स्थानबाट एकसाथ नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत् प्रयोग गर्न सकिने छ । यसलाई ल्यापटप र डेस्कटपमा पनि डाउनलोड गरेर अफलाइनमा पनि प्रयोग गर्न सकिने प्रतिष्ठानका अध्यक्ष श्रेष्ठले बताए । सरकारले नेपाल संवतलाई अनिवार्य रूपमा सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय लागू गरिसकेको छ । 


Author

थप समाचार
x