समाज

कञ्चनपुरमा वन रक्षकमाथि चितुवाको आक्रमण

इकागज |
चैत १३, २०८० मंगलबार १७:४९ बजे

फाइल तस्बिर

कञ्चनपुर- कञ्चनपुरमा डिभिजन वन कार्यालयभित्रै चितुवाले एक जनालाई आक्रमण गरेको छ ।

डिभिजन वन कार्यालय महेन्द्रनगरमा सशस्त्र वन रक्षकतर्फ जमदार पदमा कार्यरत अर्जुनसिंह थापालाई चितुवाले आक्रमण गरेको हो । डिभिजन वन कार्यालयका प्रमुख भीम कडेलले चितुवालाई बेहोस बनाएर खोरमा हाल्ने क्रममा थापामाथि आक्रमण गरेको बताए । बेहोस भइसकेको ठानेर खोरमा लैजान खोज्दा चितुवा थापामाथि झम्टिएको थियो ।


चितुवाको आक्रमणबाट घाइते भएका थापाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । थापाको हातमा चोट लागेको छ । थापा जमदारका रूपमा गोही, सर्प जस्ता वन्यजन्तुको उद्धारको काम गर्दै आएका थिए । 

उनलाई आक्रमण गर्ने चितुवालाई चार दिन अघि कृष्णपुर नगरपालिका–१ को दिपेन्द्र स्मृति सामुदायिक वनमा पासोमा परेको अवस्थामा उद्धार गरिएको थियो । अहिले चितुवालाई लालझाडी वन क्षेत्रमा छाडिएको डिभिजन वन कार्यालय महेन्द्रनगरले जनाएको छ ।


Author

थप समाचार
x