नयाँ वर्षमा नुवाकोटमा भगवान माङ्चेभुमेको जात्रा लाग्दै
नुवाकोट- नुवाकोट जिल्ला शिवपुरी गाउँपालिका वडा न: १ मा नयाँ वर्षको उपलक्ष्यमा सदाको वर्ष झै भगवान माङ्चेभुमेको जात्रा लाग्ने भएको छ ।
शिवपुरी गाउँपालिका वडा न १ को छुली डाँडामा अवस्थित यस मन्दिरलाई पालिकाको पूर्वी भेगका जनताहरूले शक्तिपिठको रूपमा पुज्ने गर्छन् । यस भेगको वरपर रहेको देविस्थान, खोलेखर्क, साल्मे, सेमोङ्पोखरी, शेर्पा गाउँँ, पुरानोगाउँ, बिनडाडा, डाडाखर्क, तलाखु, छाप, शिवालय, गोल्फुभञ्ज्याङसहित सिन्धुपाल्चोक मेलम्ची नगरपालिका लगायतका दर्जनौं समुदायहरूले यहाँ रहेको भगवान माङ्चेभुमेलाई पुज्ने गर्दछ ।
यस भगवानको थानमा खडेरीको समयमा बाजागाजासहित पानी माग्दा पानी पार्ने विश्वास अझै पनि रहेको पाइन्छ । परापूर्वकालमा कुनै पनि कार्ज्य गर्नुपर्दा अघिल्लो दिनै भाँडाकुँडा माग्दा भाँडाकुँडा दिने किम्बदन्ती रहेको छ । पछि जुठै भाँडा लगेर बुझाएपछि दिन छाडेको भनाइ छ । यहाँ पाप र धर्मद्वार पनि रहेको बताइन्छ । करिब १०० मिटर लामो सुरुङ अहिले पनि रहेको र धर्मात्मी मान्छे मात्र यो सुरुङमा छिर्न सक्ने यहाँको समुदायले बताउने गर्दछ । सुरुङभित्र मादलसहितको धेरै बाजागाजा अझै पनि रहेको भन्ने गर्दछ ।
अन्य समयमा व्यक्तिगत रूपमा सयौँ पूजाआजा हुने गरे पनि आन्तरिक पर्यटन प्रवर्द्धनको लागि २०७९ सालबाट नयाँ वर्षको दिन पारेर जात्रा आयोजना गरेको जात्रा व्यवस्थापन तथा संरक्षणका अध्यक्ष ईश्वर गुरुङले बताए । पहिलो वर्ष नै २ दर्जन भन्दा धेरै झाँक्री समूह र १ हजारभन्दा धेरैले जात्रा अवलोकन गरेको पनि बताए ।
काठमाडौँको सुन्दरीजलबाट जम्मा ४४ किमी दूरीमा अवस्थित यस जात्रामा २०८० को जात्रामा काठमाडौँबाट पनि हजारौं भक्तालुजनहरू उपस्थित भएको बताउँदै यस वर्ष अझै यो संख्या अझै बढ्ने आकलन गरिएको व्यवस्थापन समितिले जानकारी गराए । जात्रामा स्थानीय परिकार र सांस्कृतिक झाँकीहरू पनि भक्तालुजनहरूले देख्न पाउने छन् ।
भगवान माङ्चेभुमे जात्रा संरक्षण तथा व्यवस्थापन समितिले उक्त दिन जात्रामा सहभागी भै भगवानको दर्शन गरिदिन निमन्त्रणा गरेका छन् । जात्रामा आउने भक्तालुजनलाई सिस्नु, लसुन नखाइदिन तथा छालाको पेटी, जुत्ता नलगाइ उपस्थित भइदिनको लागि पनि जानकारी गराए । जात्रा अघिल्लो दिनदेखि सुरु हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया