समाज

फोहोरमैला व्यवस्थापन राजनीतिक प्राथमिकताको विषय हुनुपर्छ : इयु राजदूत

इकागज |
चैत २७, २०८० मंगलबार २१:४९ बजे

बर्दिबास- युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको विषय भएको बताएकी छन् ।

मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारवालासँगको छलफलमा राजदूत लोरेन्जोले यस्तो बताएकी हुन् । उनले वातावरण सबै मानिसका लागि उत्तिकै महत्त्वपूर्ण रहेको भन्दै यसलाई राजनीतिक रूपमा स्थानीय प्राथमिकताको विषय बनाउनुपर्नेमा जोड दिइन् । 


उनले भनिन्, 'वातावरणलाई राजनीतिक रूपमा पनि प्राथमिक दिनुपर्छ । वातावरणलाई चक्रीय अर्थतन्त्रसँग जोड्न सके यसले पर्यावरण संरक्षण संगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।'

त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा कसरी काम गरिरहेको जिज्ञासा राखेका थिए । बर्दिबास नगरपालिकाको उपमेयर तारादेवी महतोले नगरपालिकाले फोहोरमैला व्यवस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसन नेपालसँग सहकार्य गरेर अगाडि बढी रहेको बताइन् । उनले अहिले पनि फोहोरमैला क्षेत्रमा काम भइरहेको जानकारी गराउँदै अझै नीतिगत स्पष्टतासहित दीर्घकालीन व्यवस्थापनमा जोड दिइन् ।

स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिलले फोहोरमैला व्यवस्थापन विश्वव्यापी समस्या भएको जिकिर गर्दै नीतिगत रूपमा स्पष्ट हुन सके समाधान गर्न कठिन नहुने बताइन् ।

त्यसैगरी, फ्रान्सका राजदूत ग्लिज बोरबाउ, युरोपिएन युनियनका सहकारिता उपप्रमुख एलोइजा स्टुडिलो पनि उपस्थित रहेकी थिइन् । युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासँग मिलेर ग्रीन शिफ्ट परियोजना सञ्‍चालन गरिरहेको छ । 

छलफलमा ग्रीन शिफ्ट परियोजनाका लागि छनौट भएका बर्दिबासका नगरपालिका भित्रका चार विद्यालयका प्रधानाध्यापकसहित विद्यार्थीहरूको सहभागिता रहेको थियो । उक्त विद्यालयमा 'क्लाइमेट स्मार्ट स्कुल' परियोजना सुचारु हुनेछ । जसमा विद्यार्थीहरूले प्लास्टिकजन्य फोहोरमैला व्यवस्थापनका बारेमा जनचेतना र ज्ञान प्राप्त गर्नेछ ।


Author

थप समाचार
x