समाज

महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

इकागज |
जेठ ३१, २०७८ सोमबार १७:३९ बजे

फाइल तस्बिर

दार्चुला :  गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्‍यो । भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका-१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो । भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो ।

नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो । नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो । सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो । गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका-२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ ।


झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ । घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस-२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताए । भारतले दशक अघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ । महाकाली नदी किनारै किनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ ।

महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताए । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ । धार्चुलाभन्दा माथिल्लो भू–भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ । 'खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुङ्गा महाकाली मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ,' बुढाथोकी भने, 'खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ ।'

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको छ । भारतले दशकदेखि यसरी सडक निर्माण गर्दैछ । नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुङ्गा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ । यसअघि पनि भारतले नेपालको महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो ।

मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टानहरु नेपाली भू-भागमा प्रशस्त मात्रा देखिने गरेको व्याँसका स्थानीय दिपक खाती बताउँछन् । गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो । सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्याँसका स्थानीय बताउँछन् । भारतको सो सडक निर्माणको क्रममा जताततै स्थानीयले वारपार गर्ने गरी महाकालीमा ढुङ्गा फालिएका छन् ।

व्यासका वडाध्यक्ष बुढाथोकी भन्छन्, 'यो अहिलेको पहिरो मात्र हैन विगतमा पनि यस्तै ठाउँ-ठाउँमा बाटो भत्काए पनि नेपाल सरकारले लगानी गरेर बाटो बनाउनु परेको थियो ।' वर्षेनी भारतले सडक बनाउँदा, विस्तार गर्दा नेपालतिरको घोरेटो बाटो भत्किने गरेको उनले बताए ।

अहिले कल्जु क्षेत्रमा भत्किएको बाटो भारतीय पक्षले नै बनाउने गरी उच्चस्तरीय पहल गरिनुपर्ने उनको भनाइ छ । सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन् । बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन् ।

महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाब नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार गरेको छ । गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराएका छन् ।

पत्रमा लेखिएको छ, ‘व्याँस गाउँपालिका-२ कल्जुखोला नजिकै त्यहाँको सडक निर्माण गर्ने क्रममा जेलिटिन पट्काउँदा माथिबाट पहिरो खसेर महाकालीमा पानी जम्मा भई नेपालतर्फको घोरेटो बाटो अवरुद्ध भएकाले जम्मा भएको पानी खोली बाटोको सहज आवागमनको लागि अनुरोध छ ।’

भारतीय प्रशासनलाई लेखिएको पत्रको पाँच दिनसम्म जवाफ आएको छैन । प्रजिअ जोशीले भारतको धार्चुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण पटक-पटक महाकाली नदी नेपालतिर आउने र समस्या हुने गरेको विवरण गृह मन्त्रालयलाई जानकारी गराएका छन् ।

उनले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएरै सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका त्यस्ता गतिविधि रोक्न पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरिएको जानकारी दिए । 'लिखित मात्र हैन, फोनमार्फत पनि जानकारी भारतीय पक्षलाई गराएको छु,' प्रजिअ जोशीले भने, 'तर अहिलेसम्म गर्छु पनि भनेको छैन् ।'

‍व्यास गाउँपालिका-२ को कल्जु सिमसिम पानी क्षेत्रमा झण्डै २५० मिटर बढी घोरेटो बाटो अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती भोग्नु परेको छ । व्याँस गाउँपालिकाको दुई वडा जोड्ने घोरेटो बाटो अवरुद्ध भएपछि अहिले स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको हो ।

व्याँस गाउँपालिका-२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भारतीय अहिले पनि सो क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गराउँदा नेपालतिरको थप बाटो क्षति हुने अवस्था आएको बताए । शुक्रबार पनि थप पहिरो आएको छ । पूरै पहाड नेपालतिर पुगेको छ । महाकाली खोला पूरै नेपालतिर धार परिवर्तन गर्दै कटान गर्दैछ ।

स्थानीयले दुईदेखि तीन घण्टा थप पहाड हिंडेर मात्रै बाटोमा पुग्न सकिने अवस्था रहेको उनले बताए । बर्खा निरन्तर छ । अझै उता (भारत)तर्फ बाट पहिरो आइरहेको छ । भारतमा पनि सडक अवरुद्ध भएको छ । सडक सञ्चालन भएको छैन् । चट्टान खस्‍ने क्रम जारी रहेकाले निर्माणमा सास्ती भएको बुढाथोकीले बताए । कल्जुभन्दा माथिल्लो क्षेत्रमा यकिन घोरेटो बाटोे कति भत्किएको भनेर हेर्न सकिने अवस्था छैन्, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दुम्लीङका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिह बोहराले भन्नुभयो, 'हेर्न जान बाटो छैन् । अहिले यो बाटो पूर्णरुपमा अवरुद्ध छ । चट्टानी ढुङ्गाहरु खोलावारी आएका छन् ।' रासस 


Author

थप समाचार
x