समाज

बाजुरामा खोलाले बगाउँदा दुई जना वेपत्ता

इकागज |
जेठ ३१, २०७८ सोमबार १८:२४ बजे

फाइल तस्बिर

धनगढी : बाजुरामा खोलाले बगाउँदा दुई जना वेपत्ता भएका छन् । लगातारको बर्षापछि खोलामा आएको बाढीले बगाउँदा जिल्लाको छुट्टाछुट्टै स्थानमा दुई जना वेपत्ता भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार त्रिवेणी नगरपालिका– ५ का वर्षीय कमल बुढा वेपत्ता भएका छन् । गाउँ नजिकैको किम्नी खोलाले बगाउँदा उनी वेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । उनका अनुसार जिल्लाको बुढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहार पनि वेपत्ता भएकी छिन् ।


धानको बेर्ना गोढ्न जाने क्रममा चिप्लिएर बड्डीगाड खोलामा खसेकी उनलाई सोही खोलाले बगाएको प्रहरी निरीक्षक साउँदले जानकारी दिए । साउँदका अनुसार वेपत्ता दुवै जनाको खोजी कार्य भइरहेको छ । यस्तै लगातारको बर्षापछि बुढीनन्दा नगरपालिका–८ का खेमराज कठायतको घर भत्किएको प्रहरी निरीक्षक साउँदले बताए ।

बर्षाले ठाउँठाउँमा पहिरो गएपछि बाजुरा जिल्लाको सदरमुकाम हुँदै बाहिर जाने सबै सडकहरू अबरुद्ध भएका छन् । जिल्लाको मुख्य राजमार्ग साफेँ-मार्तडी सडक र मार्तडी-कोल्टी सडक अवरुद्ध भएका छन् । अन्य ग्रामिण सडकहरु समेत अवरुद्ध भएका छन् ।

मार्तडी-कोल्टी सडक शनिबारदेखि नै अवरुद्ध भएको थियो भने आइतबार रातिदेखि भइरहेको बर्षाले साफे-मार्तडी सडक पनि अवरुद्ध भएको हो । राजमार्ग अन्तर्गत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाय दर्जनौं ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक साउँदले जानकारी दिए । जिल्लाको बुढीगंगा नगरपालिकाको अम्कोटमा नियमित पहिरो बग्न थालेपछि साफे-मार्तडी सडक अवरुद्ध भएको हो । 


Author

थप समाचार
x