समाज

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा दुई जना पक्राउ

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १४:३१ बजे

काठमाडौँ- नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा मंगलबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा टोखा नगरपालिका-९ दिपज्योती मार्ग बस्ने दार्चुला व्यास गाउँपालिका-६ हुती घर भएका २९ वर्षीय लोकेन्द्र बडु र टोखा नगरपालिका-९ बस्ने सर्लाही हरिवन नगरपालिका-२ घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङ रहेका छन् । 


टोखा नगरपालिका-९ स्थित सुर्खेत खाजा घरमा नाबालिकाहरूलाई विभिन्न किसिमको डरत्राश र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले खाजा घर सञ्चालकहरूलाई पक्राउ गरेको हो । साथै पीडित बालिकाको पनि उद्धार गरिएको छ । 

नाबालिकालाई नेपालका विभिन्न स्थानबाट वेटर लगायतको काममा लगाउने भनि खाजा घरमा ल्याई विभिन्न किसिमको डरत्राश र प्रलोभन देखाई ग्राहकहरूसँग खाजा घरमा नै रहेको कोठामा र ग्राहकले चाहेमा बाहिरको होटल/गेष्ट हाउसहरूमा समेत पठाई वेश्यावृत्तिमा लगाउने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको छ ।  

उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 


Author

थप समाचार
x