समाज

सप्तरीमा सशस्त्रकाे 'जल उद्धार' सम्बन्धी तालिम

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १५:१८ बजे

सप्तरी -  वैशाख २१ गते बिहान करिब ९ बजे कन्चनरुप नगरपालिका - १ स्थित बैरवाको उत्तर कोशी नदीको सहायक नदी त्रियुगा नदीमा अकस्मात् २ जना व्यक्तिहरू नदीले बगाएर ल्यायो । उनीहरू बचाऊ बचाउ गर्दै कुनै बेला पानी समेत खाएर जीवन रक्षाको गुहार मागिरहेका थिए । यता नदी किनारमा र्याफ्ट बोट सहित लाईफ ज्याक्केट र सेफ्टी हेल्मेट लगाएको फौज तैनाथ थियो ।

सोही बेला बरमझिया स्थित सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालयको उल्लेखित तालिम प्राप्त टोलीले उनीहरुलाई सकुशल उद्धार गर्यो । हेर्दा र सुन्दा नरमाइलो लागे पनि त्यो जल उद्धार सम्बन्धी अभ्यास थियो । 


सप्तरीमा चैत्र १५ गते देखी  संचालन भएको जल उद्धार तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग बिजय सुबेदीको प्रमुख आतिथ्यतामा समापन भैरहेका कार्यक्रमको दृष्‍य थियो । २८ दिन सम्म चलेको उक्त तालिममा सशस्त्र प्रहरी बल नेपालका विभिन्न युनिटहरुबाट २८ जना सहभागी थिए । तालिम समापनको उक्त अवसरमा कञ्चनरुप - २ स्थित त्रियुगा नदीमा जल बाट उत्पन्न हुने विभिन्न प्रकोपहरूकाे सिमुलेशन एक्ससाईज गरी समापन गरिएको थियो ।

सो अवसरमा जलद्धारा उत्पन्न हुने विभिन्न प्रकोपका घटनाहरूमा परेका/फसेका व्यक्तिहरूले नदि वा पानीमा नपरी डोरी र लाठीको सहायताद्धारा गरिने ड्राई रेस्क्यू, वोटद्धारा गरिने रेस्क्यू, विभिन्न ईम्प्रोभाईज फ्लोटिङ्ग डिभाईसद्वारा गरिने रेस्क्यू, माथिल्लो पानी नदी क्रसिङ विधिद्वारा गरिने उद्धार अभ्यासहरू र उद्धारकद्धारा पौडी खेली पानीमा फसेका व्यक्ति समक्ष पुगी गरिने उद्धार अभ्यासको प्रदर्शनी गरिएको थियो ।  

अभ्यास कला अवलोकनका लागि शिक्षालयमा कार्यरत सिनियर अधिकृत, जुनियर अधिकृत, अन्य दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरू, विभिन्न संचारकर्मीहरु लगायतको उपस्थित ​सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग विजय सुवेदीले स्थानीय प्रशासनसंग समन्वय र सहकार्य गरी विभिन्न विपद् जन्य विशेष प्रकृतिका तालिमहरू थप संचालन गर्दै लैजानु पर्नेमा जोड दिए  ।  

स्थानीय निकायहरूसँगको सहकार्यमा यस्ता प्रकृतिका प्रशिक्षणहरूले विपद् जन्य घटनाहरूमा समुदाय स्तरका युवाहरूलाई तत्काल उद्धार कार्यमा परिचालन गर्न सकिएमा क्षति न्यूनीकरण गर्न सहज हुने भएकोले सोही अनुरूप कार्ययोजना सहित अगाडि बढ्नु पर्ने बताए । 

सशस्त्र प्रहरी बल नेपाल विपद उद्धार कार्यमा दक्ष जनशक्ति रहेको सुरक्षा संगठन हो । विपद व्यस्थापनमा बङ्गलादेश र नेपालमै तालिम प्राप्त गोताखर जनशक्ति सशस्त्र प्रहरीमा रहेका छन । सशस्त्रको आफ्नै विपद व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा रहेको छ । हालै मात्र हरेक प्रदेशमा सशस्त्र प्रहरीले विपद ब्यबस्थापनको कार्य मात्र गर्ने गरी डियसपीको कमान्ड युनिट स्थापना गरेको छ ।


Author

थप समाचार
x