जन्मदिनमा एक करोड बराबरको जग्गा दान
फाइल तस्बिर
धरान- धरान उपमहानगरपालिका-१४ विजयपुरका बृखबहादुर डंगोलले आफ्नो ९०औँ जन्मदिनको अवसरमा एक करोड रुपैयाँ बराबरको जग्गा दान गरेका छन् ।
उनले ९० वर्ष पुगेको अवसरमा आज प्राडा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरिरहेको ‘प्राडा टङ्कप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र’ र देश सुब्बाले सञ्चालन गरिरहेको ‘भयवाद अध्ययन केन्द्र नेपाल’ लाई एक करोड रुपैयाँ बराबरको ११ धुर जग्गा प्रदान गरेका हुन् ।
‘प्राडा टङ्कप्रसाद न्यौपानेको अध्ययन अनुसन्धान केन्द्र’ पाँच वर्ष अगाडि स्थापना भएको थियो भने देश सुब्बाको भयवाद दर्शनमा आधारित ‘भयवाद अध्ययन केन्द्र’ हालै स्थापना भएको हो ।
संस्था दर्ता गराए पनि व्यवस्थित रूपमा कार्यालय सञ्चालनका लागि जग्गा र भवन नभएको अवस्थामा डंगोलले जग्गा दान गरेको प्राडा न्यौपानेले बताए । डंगोलले प्रदान गरेको जग्गा धरान १४ स्थित आदिवासी जनजाति सङ्ग्रहालय भवनको पश्चिममा पर्ने रुप्से पोखरीदेखि विजयपुर जाने बाटोमा रहेको छ ।
९० वर्षीय डंगोलले प्राज्ञिक अध्ययन अनुसन्धानका लागि स्थापना भएको संस्थालाई आफूले जग्गा दान गर्न पाउँदा खुसी लागेको बताए । आफूसँग धेरै जग्गा भएर नभई भावी पुस्तालाई अध्ययन अनुसन्धानमा सहजता होस् भनेर आफूले जग्गा दिएको प्रतिक्रिया दिए । डंगोलले धरानका विद्यालय, प्रहरी चौकीलगायत विभिन्न संघसंस्थालाई नगदी र जिन्सी सहयोग गर्दै आएका छन् । रासस
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया