समाज

मनाङमा बाढी पहिरो : गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, बैंक सबै बगायो

इकागज |
असार २, २०७८ बुधबार १५:५३ बजे

काठमाडौँ : निरन्तरको वर्षापछि उर्लिएको मस्र्याङ्दी नदीले मनाङको नासो गाउँपालिकाको कार्यालय नै बगाएको छ । नासोँ गाउँपालिका–३ धारापानीमा मस्र्याङदी नदीले गाउँपालिकाको कार्यालय, प्रहरी चौकी, प्रभु बैंकको कार्यालय, प्राइम बैंको कार्यालय, केही घर र होटलहरु बगाएको छ । मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार धारापानी क्षेत्रमा २ वटा झोलुंगे पुलसमेत बगाएको छ । 

‘धारापानी क्षेत्रमा गाउँपालिकाको कार्यालय, बैंक, प्रहरी चौकी, केही घर, २ वटा झोलुंगे पुल बगाएको छ,’ लामिछानेले इकागजसँग भने, ‘विपद्को बेला पनि खुसीको कुरा भन्नुपर्दा अहिलेसम्म मानवीय क्षति हुन पाएको छैन । चार दिनपछि आज २ घण्टा पानी रोकिएको थियो । अहिले फेरि पानी आउन थालिसकेको छ ।’ 


प्रजिअ लामिछानेका अनुसार ताल गाउँका करिब ५० घर डुबानमा परेका छन् । मनाङमा अहिले एक गाउँबाट अर्काे गाउँमा जान सक्ने अवस्था छैन ।  सदरमुकाम चामेमा विस्थापित भएकाहरुलाई जिल्ला कारागारको नयाँ भवनमा राखिएको छ । बाढीले स्थानीय जलविद्युत आयोजनाको पाइप बगाएकोले मनाङ विद्युत विहीन बनेको लामिछानले जानकारी दिए । 


Author

थप समाचार
x