कवाडी कर तिर्ने सेवाग्राहीलाई हातपात गर्दा ललितपुरमा ठेकेदार पक्राउ
फाइल तस्बिर
काठमाडौँ- प्रहरीले निकासी कर उठाउने क्रममा हातपात गरेको आराेपमा ललितपुरबाट ठेकेदारसहित ४ जनालाई पक्राउ गरेको छ ।
प्रहरीले सोमबार ललितपुर महानगरभित्र कवाडीको ठेक्का लिएको इन्द्रेणी हार्डवेयर एन्ड सेनेटरी वेयर प्रालिका सञ्चालक रोशन चौधरी, गिर्वाण बिक्रम खत्री, प्रकाश बस्नेत र श्याम ठकुरीलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि सानेपामा दुई जनालाई कुटपिट गरेको आरोप छ ।
सोमबार आरोपीहरूविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट ७ दिनको म्याद लिएर अनुसन्धान भइरहेको ललितपुरका एसपी नरेश सुवेदीले इकागजलाई जानकारी दिए ।
उनका अनुसार दोहोरो करको माग थियो । एउटा नगरपालिकामा तिरेपछि अर्को स्थानीय तहमा तिर्नु नपर्ने भन्दै विवाद भएको थियो । अर्को स्थानीय तहमा कर तिरेको रसिद देखाउँदा पनि कर संकलकले मानेनन् ।
सीसीटीभीको फुटेजहरू पनि संकलन भइरहेको, हातपात र विवाद भएको कुराहरू भएकाले अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ ।
दोहोरो कर तिर्न नपर्ने भन्दै पीडितले कर संकलकलाई भनेका थिए ।
महानगरपालिकाले गत २ फागुनदेखि लागू हुने गरी इन्द्रेणी हार्डवेयर एन्ड सेनेटरी वेयर प्रालिसँग वार्षिक १० करोड १८ लाखमा ठेक्का सम्झौता गरेको थियो ।
असार ०८२ सम्मका लागि ललितपुर महानगरपालिकाभित्र छिर्ने र बाहिरिने सवारीसाधनबाट कर उठाउन महानगरले सम्झौता गरेको छ ।
तर, सेवाग्राहीले सामान्य सामान ढुवानी गर्दा पनि कर तिर्नुपरेको भन्दै विरोध गर्दै आइरहेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया