समाज

कालीगण्डकीले बगायो ९ घर

इकागज |
असार २, २०७८ बुधबार १७:५८ बजे

पर्वत : गएको शनिबारदेखिको अबिरल वर्षाको कारण पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका नौ घर बाढीले बगाएको छ । सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका-५ का आठ घरधुरी र पर्वतको विहादी गाउँपालिका-६ शालिग्रामको एक घरधुरी बाढीले बगाएको हो । मङ्गलबार बिहान उर्लिएको कालीगण्डकी नदीको पानीको भेल १५ वटा घरभित्र पसेर क्षति पुगेको थियो ।

मङ्गलबार दिउँसो बहाव केही घटेपनि साँझ फेरि बढेर घर बगाएको स्थानीयवासी तिलक पराजुलीले जानकारी दिए । उनका अनुसार स्थानीय केशवराज न्यौपाने, लक्ष्मी न्यौपाने, रेशमलाल नौपाने, गोपाल सुनार, शक्ति श्रेष्ठ, माया क्षेत्री र विक्रम श्रेष्ठलगायतको घर बाढिले बगाएको हो । विस्थापित परिवारलाई सुरक्षित स्थानमा राखिएको प्रहरीले जनाएको छ ।


कालीगण्डकी र सेतीखोला दुवैको बहाब बढेर पर्वत र स्याङ्जा जोड्ने सेतीखोला माथिको पुलबाट पानी बग्न लागेपछि बजारवासीमा रुवावासी छाएको थियो । मानवीय क्षति भने नभएको पराजुलीले जानकारी दिए । बाढीले भत्काएका घरबाट अत्यावश्यक वस्तुहरु निकालिएको थियो ।

स्याङ्जातर्फको बजार पूर्णरुपमा विस्थापित हुने खतरा रहेको छ । विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ भने शिला नजिकै रहेका सत्तलहरु समेत बगाएको छ । सेतीवेणीमा रहेको प्रहरी चौकीले विस्थापित भएका घरधुरीलाई सुरक्षित स्थानमा सार्न र सतर्कता अपनाउन आग्रह गरिरहेको छ । रासस 


Author

थप समाचार
x