समाज

युएईमा सेल्स रेप्रिजेन्टिभमा लगाउने भनी कुवेतमा पुर्‍‍याई महिलालाई बन्धक बनाउने दुई जना पक्राउ

इकागज |
जेठ २, २०८१ बुधबार १४:१४ बजे

काठमाडौँ- युएईमा पुर्‍याएर सेल्स रेप्रिजेन्टिभ काममा लगाइदिन्छु भनी कुवेतस्थित घरेलु कामदारमा लगाउने दुई जना युवालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दैलेख नारायण नगरपालिका ९ का २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका ८ का २५ वर्षीय आयुश भन्ने आकाशबाबु विकलाई दुबई भनेर कुवेत पुर्‍याई घरेलु कामदारको रुपमा प्रयोगमा लगाएकाले कार्यालयको टोलीले काठमाडौँ महानगरपालिकाको ६ को पिपलबोटबाट पक्राउ गरेको हो ।


उनीहरूले महिलालाई आकर्षक रोजगार दिलाइदिने भन्दै दुबई लगेका थिए । त्यसपछि उनीहरूले कुवेतमा आकर्षक कम्पनी र धेरै तलब उपलब्ध गराइदिने प्रलोभनमा पारी लगेका थिए ।

कम्पनीमा काम नलगाई घरेलु कामदारमा लगाएको कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले बताएका छन् । उनका अनुसार घरेलु कामदारको रुपमा काममा लगाएपछि ती महिलालाई मानसिक र शारीरिक यातनासमेत दिएर बन्धक बनाइएको थियो ।

‘बहिनीले विदेशमा समस्या भोग्न थालेपछि दाजुले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा निवेदन दिएका थिए,’ प्रवक्ता रेग्मीले भने,’ कुवेतस्थित नेपाली राजदूतावाससँग समन्वय गरी प्रहरीले महिलाको उद्धार गरेको गरिसकेको छ ।‘

पीडित महिलाको दाजुले वैशाख २१ गते काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा बहिनीको उद्धार गरिदिन भन्दै निवेदन दिएका थिए ।

महिला वैशाख २७ गते स्वदेश फर्कि सकेकी छिन् । नेपाल सरकारबाट निषेधित क्षेत्रमा लगी अलपत्र तथा बन्धक बनाइएको र मानव तस्करमा संलग्न रहेको भन्दै प्रहरीले बबरमहलस्थित मानव बेचबिखन ब्यूरोमा बुझाएको छ ।

नाम ढाटेर घरेलु कामदार पठाउन प्रतिबन्ध लगाइएको मुलुकमा उनीहरूले ठूलो संख्यामा महिलालाई पठाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता रेग्मीले बताए । पीडित महिलाले घरमा काम गर्न नसकेपछि स्वदेश फर्कन खोज्दा एजेन्टले बन्धक बनाएको उनले जानकारी दिए ।

‘एजेन्टले ती महिलालाई स्वदेश फर्कन १ लाख ५० हजार माग गरेको थिए,’ उनले अगाडि थपे,’ एजेन्टले बढी गरेमा र महिलाले पैसा नदिएमा मारिदिने धम्की दिएका थिए ।‘

उनीहरूले दुबई र कुवेतमा सम्पर्क कार्यालयसमेत खोलिसकेको रेग्मीले जानकारी दिए । उनका अनुसार उनीहरूले एजेन्ट राखेर भिजिट भिसामा दुबई पुर्‍याउने गरेका थिए । भिजिट भिसा बनाएर र अन्य थप डिमान्ड बनाइ विभिन्न प्रलोभनमा पार्ने गर्दथे । ठूलो रकम लिएर महिलालाई लैजाने गरेका थिए ।

राकेश नेपालीले गोपाल सुनार र राकेश सुनारको नाममा जन्म मिति फरक तथा ठेगाना परिवर्तन गरेर दुई वटा नागरिकता बनाएको पनि उनले जानकारी दिए ।

 

 

 

 

 


Author

थप समाचार
x