समाज

श्रीलंकाबाट उद्धार गरिएका ९० मध्ये एक महिलाले खुलाइन् बेच्‍नेको नाम

इकागज |
जेठ २, २०८१ बुधबार १७:१८ बजे

फाइल फाेटाे

काठमाडौँ - माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाले कोभिड -१९ को बेला श्रीलंकाबाट उद्धार गरिएका ९० जना पीडित महिलामध्ये एक जनाले बेचबिखनमा संलग्नको नाम खुलाएको बताएकी छिन् । 

उनले ती आरोपित व्यक्तिलाई प्रहरी अनुसन्धानको दायरा ल्याइएको बताइन् । कठमाडौँमा आज मिथिला संस्कृति समाजले राष्ट्रिय नाचघरमा आयोजना गरेको कार्यक्रममा कोइरालाले एक वर्षपछि एक जना पीडितले अपराधमा संलग्नको नाम खुलाएको जानकारी दिएकी हुन् ।  


“एकजना पीडितले कसले बेचेको र कसरी श्रीलंका पु-याएको नामसहित मुख खोलेकी छिन्”, उनले भनिन्, “प्रहरीले यसैको आधारमा दोषीलाई अनुसन्धानको दायरामा ल्याइसकेको छ ।”

उनले बेचबिखनमा परेका पीडितले सजिलै अपराधीको नाम खुलाउन नमान्ने बताइन् । जसले गर्दा पीडितलाई न्याय दिलाउन गाह्रो हुने गरेको छ । त्यस्तै, पछिल्लो समय देश बाहिर मात्रै होइन्, देशभित्रै छोरीचेलीको किनबेच भइरहेको उनले खुलाइन् । मङ्गलबार काठमाडौँको एक ‘स्पा’ बाट १४ जना किशोरी उद्धार गरिएको उनले जानकारी दिइन् । 

खासगरी रात्रिकालीन मनोरञ्जन क्षेत्रमा १२ देखि १८ वर्ष सम्मका बालिकाको शारीरिक एवं मानसिक बेचबिखन भइरहेको कोइरालाको भनाइ थियो  । 

“विदेशमा बेचिन त छँदैछ, छोरीहरु देशभित्रै बेचिएका छन्”, उनले भनिन्, “कसरी रोक्ने हो ? चिन्ताजनकस्थिति छ । न्यायको टर्च बालेर खोज्नुपर्ने स्थिति छ ।”
 


Author

थप समाचार
x