समाज

कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्‍न दुई जना पक्राउ

इकागज |
जेठ ३, २०८१ बिहीबार १४:१० बजे

सांकेतिक तस्बिर

काठमाडौँ- भिजिट भिसामा कुवेत पुर्‍याई मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा दैलेख नारायण नगरपालिका-९ घर भई काठमाडौँ तार्केश्वर नगरपालिका लोलाङ बस्ने २४ वर्षीय राकेश सुनार भन्ने गोपाल सुनार र गोरखा पालुङटार नगरपालिका-८ घर भई काठमाडौँ टोखा नगरपालिका-६ बस्ने २५ वर्षीय आयुष भन्ने आकाश बाबु विक रहेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौँ महानगरपालिका-६ बौद्ध पिपलबोटबाट पक्राउ गरेको हो । 


उनीहरूले युएइ दुबईमा सेल्स रिप्रिजेन्टेटिभमा काम लगाउने भनी कुवेत पुर्‍याई पीडितलाई घरेलु काममा लगाउनुको साथै शारीरिक तथा मानसिक यातना दिई बन्धक बनाएको खुल्न आएको छ । पीडितको आफन्तबाट प्राप्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट कुवेतस्थित नेपाली राजदूतावाससँगको समन्वयमा पीडितलाई वैशाख २७ गते नेपाल फिर्ता ल्याइएको थियो । 

उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहल पठाइएको तथा घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत प्रहरीले खोजी गरिरहेको छ ।


Author

थप समाचार
x