समाज

सीप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि

इकागज |
जेठ ३, २०८१ बिहीबार १५:४ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सीप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ ।

वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरू सुरु भएका थिए । यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो । यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन् । ३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ । आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरूको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ । 


दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ । यसमा १ हजार १३५ जनाको कोटा छ । यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ ।  

तालिममा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ । तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ । तालिम निःशुल्क हो तर कसैले बीचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ ।

निःशुल्क सीपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ । यसमध्ये ४३ हजार ५८ जनाले ‘सीप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन् । २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो । 

वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छौँ । उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखेका छौँ । यसपछि सीप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखेका छौँ । प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाएका हौँ । 

तालिममा समावेश १० क्षेत्र र ३० पेसासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ, इलेक्ट्रिसियन, प्लम्बिङ, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् । 

यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ, वेटर, डिजिटल मार्केटिङ, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ, वेल्डिङ्, टेलरिङ/ड्रेस मेकिङ, फेसन डिजाइनिङ, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम हुन् ।   

हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो । यसको विवरण अद्यावधिक भइरहेको छ । कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो । त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे । त्यस दिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो । वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भरे । यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ । 

यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन् ।   

‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन् । यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए । जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए ।

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । 
 


Author

थप समाचार
x